Friday, April 1, 2016

यी उपप्रधानमन्त्री

चित्रबहादुर केसी
तस्बिर : लक्ष्मीप्रसाद ङाखुसी, नेपाल
मन्त्री भनेपछि त्यसै पनि भीड जम्मा भइहाल्छ । त्यसमाथि उपप्रधानमन्त्री । अझ पहिलोपल्ट सरकारमा गएको पार्टीका नेता । सहकारी तथा गरिबी निवारण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री चित्रबहादुर केसीको अन्तर्वार्ता लिन २४ पुस बिहानै मन्त्रीनिवासतिर हान्निँदा मनमनै असंख्य प्रश्न गुजुल्टिँदै थिए ।

त्यसमाथि शंकाका बादल पनि उत्तिकै बटारिँदै थिए । भीडभाडका कारण कतै दिएको समय भुल्ने हुन् कि ? हतारमा कतै निस्किने हुन् कि ? लामो समय कुर्नुपर्छ कि ? किनभने, यस्तो धेरैपल्ट धेरै नेता, मन्त्री, प्रधानमन्त्री निवासमा झेलिसकिएको थियो । 

तर, निवासमा पुगेपछि भने परिस्थिति निकै भिन्न देखियो । नेपाली सेनाका दुई सिपाही थिए । उनीहरूले निवासको दैलोबाहिर राखिएका सोफातिर सोझ्याउँदै बस्न आग्रह गरे । उनीहरूको आतिथ्यप्रति आभार व्यक्त गर्दै म भने ठिंग उठिरहेँ । कारण, एउटा पनि सोफा बस्नलायक थिएन ।

धूलोले ढाकिएका सोफामाथि शीतका थोपाहरू थिए । सोफा मात्र होइन, शौचालय पनि उस्तै रहेछ । बत्ती नबल्ने । कतैबाट प्रकाश नछिर्ने । निवासमा कुनै सहयोगी थिएनन् । सहयोगी आएर हामीलाई भित्र लैजालान् भन्ने अपेक्षाविपरीत अकस्मात् उनै चिरपरिचित केसी टुप्लुक्क देखापरे, आगन्तुक कक्षमै । आफैँले बत्ती बाले । आफू बसे र हामीलाई बस्न आग्रह गरे ।

सिंहदरबार आसपासमा भेटिरहने उनै केसी । उही पुरानो ओभरकोट । उही ढपढाँचा । शासकीय ठाँटबाँठ थिएन । बोलीमा कुनै बनावटीपन थिएन । उही बागी स्वभाव । यो गर्छु र त्यो गर्छु, यो गरेँ र त्यो गरेँ भन्ने आमओहोदावालभन्दा उनी फरक थिए । कुराकानी सकेर उठ्दै गर्दा उनी धनगढी जान लागेको बताउँदै थिए । 

सहकर्मी लक्ष्मीप्रसाद ङाखुसीले अरू पनि पोजमा फोटो खिच्न खोजे । केसी सहजै तयार भए । उनको प्रस्तुति र बसाइ सरल त थियो तर उत्साहहीन र अस्तव्यस्त पनि । लाग्थ्यो, सिंगो मुलुकको अवस्थाको प्रतिनिधित्व त्यो निवासले गरिरहेको छ । धेरैपछिसम्म पनि लागिरह् यो, आखिर मुलुकको यो अवस्था कहिलेसम्म ? 

http://nepal.ekantipur.com/news/2016-01-31/20160131102608.html


No comments:

Post a Comment