हुन त ब्रम्हाण्डका कुनै पनि कुरा स्थिर छैनन् भन्ने
मानिन्छ । हामी बसिरहेको ठाउँ नेपालमा पनि कुनै समय टेथिस सागर थियो भनिन्छ ।
अहिले संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथासहितको हिमालय पर्वत शृंखला यहीँ
उभिइरहेको छ र हामी त्यसैमा गर्व गरिरहेका छौं । अनि भूपरिवेष्ठित मुलुकका रुपमा
समुद्रसम्मको पहुँचका लागि जुधिरहेका छौं ।
प्रकृतिमा यस्ता कैयन् कुरा छन्, जुन परिवर्तन भइरहन्छन् । वर्षभरि आउने ऋतुहरूको एउटा चक्र छ । त्यही चक्रले हाम्रा दैनिकी र व्यवहारलाई निर्देशित गरिरहेको हुन्छ। हामी नेपाली त झन् आकासे पानीको भरमा खेती गर्छौं । कम पानी पर्दा खेती बिथोलिन्छ । बढी पानी पर्दा बाढी र पहिरोले घरवाससँगै खेती पनि डुबाइदिन्छ, बगाइदिन्छ।
हुँदाहुँदा अब पानी नै नपरी सुख्खा पहिरोले सताउन थालेको छ
। सिन्धुपाल्चोकको जुरे यसैको उदाहरण हो ।
हिउँ जमेका तालहरु अकस्मात् फुट्न थालेका छन् । कास्कीको
पोखरामा आएको सेती नदीको बाढी यसको चेतावनी घन्टी मात्र हो भनेर विज्ञहरुले
भनिरहेका छन् । मेलम्चीमा आएको बाढीलाई पनि पर्यावरणविद्हरुले सामान्यरुपमा लिएका
छैनन् ।
यस्ता अनगिन्ती घटना छन्, जसले प्रकृतिमा उथलपुथल देखाइरहेको छ । धेरै अस्वाभाविक घटनाहरू विपत्ति बनेर आइरहेका छन् ।
यी अस्वाभाविक घटनाहरुमा कतिपय अवस्थामा हाम्रै व्यवहारहरु जिम्मेवार छन् भने कतिपय अवस्थामा नखाएको विषय लागिरहेको छ ।
नेपाल हिमाली मुलुक भएकाले यहाँ जलवायुमा अस्वाभाविक परिवर्तनको असर तीव्ररुपमा परेको विभिन्न अध्ययनले देखाएको छ ।
हिमाली क्षेत्रमा हुने वर्षाको स्वरूप र चरित्रमा जलवायु
परिवर्तनको गम्भीर असर मापन भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार
सामन्यतः थोरैथोरै सिमसिम पानी र बढी हिउँ पर्ने उच्च हिमाली तथा हिमालपारिका
मुस्ताङ–मनाङ क्षेत्रमा हिजोआज ठूलाठूला थोपाको घना पानी पर्न थालेको छ ।
