Tuesday, March 23, 2010

ताम्राटको रहस्यमय सक्रियता


नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन -अनमिन) विवादमा परेपछि समाधानको सूत्रको खोजीमा हालै काठमाडौँ आएका राष्ट्रसंघका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बी लिन पास्कोको निकै चर्चा भयो । तर, उनीसँगै काठमाडौँ आएका अर्का राजनीतिक मामिलासम्बन्धी अधिकारीको कुनै चर्चा भएन, जसको सक्रियता र भूमिका पास्कोभन्दा कम थिएन । पास्को फर्किएपछि पनि उनले थप दुई दिन बसेर काठमाडौँमा उत्तिकै दौडधूप गरे । ती अधिकारी थिए, राष्ट्रसंघकै एसिया तथा प्रशान्त क्षेत्रीय राजनीतिक मामिला विभागका निर्देशक स्यामुअल ताम्राट ।
पास्को काठमाडौँमा रहुन्जेल ताम्राट उनीसँगै हरेक औपचारकि भेटवार्ताहरूमा सामेल भए । ती अवसरमा उनले पुरानो परचियलाई अद्यावधिक गरे । दुईदिने नेपाल भ्रमण सकेर पास्को जब फर्किए, त्यसपछि उनको सक्रियता फरक शैलीमा देखियो । उनले शान्तिप्रक्रियासँग जोडिएका सबैजसो पक्षसँग औपचारकि/अनौपचारकि छलफल गरे । अनमिनको भूमिकालाई लिएर स्पष्ट दुई धारमा बाँडिएका प्रमुख तीन दललाई एकै ठाउँमा राखेर छलफल गराउनसमेत उनी सफल भए । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पनि उनले पास्को फर्केपछि नै भेटे । रोचक पक्ष त के भने, नेपालमा अनमिन बस्ने/नबस्नेबारे पुनःविचार हुन सक्ने चेतावनी दिएर पास्को फर्किए पनि ताम्राटले भने अनमिनको म्याद थप्नुपर्ने पक्षमै 'लबी' गरे । स्रोतका अनुसार, सभाध्यक्ष नेम्वाङसँग पनि उनले यही आशयको कुरा गरेका थिए । तर, नेम्वाङले भने 'त्यो कुरा सरकारको बिजनेस' भन्दै टारेका थिए । ताम्राट तिनै व्यक्ति हुन्, जसले नेपालमा अनमिनको स्थापनाका लागि पनि निकै दौडधूप गरेका थिए । तत्कालीन राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको नेपाल कार्यालयका प्रमुख इयान मार्टिन, जोपछि अनमिन प्रमुख पनि भए, सँग उनी पटकपटक भारतसमेत पुगेका थिए । अहिले पनि पास्को भारत हुँदै काठमाडौँ आएका थिए । त्यसक्रममा भारतीय अधिकारीहरूसँग पनि भेटवार्ता भएको र ताम्राटले सहजकर्ताको भूमिका निभाएको स्रोतले जनाएको छ । राष्ट्रसंघीय उपस्िथतिलाई नजिकबाट नियालेका एक नेताका भनाइमा, जबजब अनमिनको म्याद सकिन लाग्छ, ताम्राट आइहाल्छन् । अनमिनको म्याद आगामी जेठ १ गतेबाट सकिँदैछ । ताम्राटले सार्वजनिक भाषण वा अन्तरक्रियामा भने कुनै विवादास्पद अभिव्यक्ति दिएनन् । उनी चैत २ गते न्युयोर्क फर्किएका छन् ।

No comments:

Post a Comment