Saturday, July 23, 2011

नेपालका टप १० प्लस टु




परीक्षा नियन्त्रण कार्यालयले ६ असारमा सार्वजनिक गरेको एसएलसी परीक्षाको नतिजा अनुसार २ लाख ३० हजार ५ सय विद्यार्थी उच्च माध्यमिक तह (प्लस टु)मा अध्ययनका लागि योग्य भएका छन्। एसएलसीपछिको एक मात्र राष्ट्रिय शैक्षिक कार्यक्रम रहेकाले सबैजसो विद्यार्थीका लागि अनिवार्य बनेको छ, प्लस टु। एसएलसी नतिजाको प्रतीक्षा सकिएपछि विद्यार्थीहरू राम्रा उच्च माविको खोजीमा व्यस्त छन्। मुलुकभर सामुदायिक, क्याम्पस र निजी विद्यालय गरी तीन हजारभन्दा बढी उच्च माविहरू नयाँ भर्नाको चटारोमा छन्। तिनै विद्यार्थी र अभिभावकको सहजताका लागि यस वर्ष पनि नेपालले विगत वर्षझैँ चार वर्षको नतिजा विश्लेषणका आधारमा उत्कृष्ट उच्च मावि छनोट गरेको छ।
ललितपुरको प्रसादी एकेडेमी चौथोपल्ट पहिलो स्थानमा परेको छ भने उत्कृष्ट १० को सूचीमा नयाँ दुई विद्यालयले नाम दर्ता गराएका छन्, यसपटक। प्रसादीले २०६४ देखि ०६७ सम्म चार वर्षका ११ र १२ कक्षा गरी आठवटा नतिजाको औसत ९७ दशमलव ८६ प्रतिशत अंक प्राप्त गरेको छ। विगत वर्षहरूमा कम विद्यार्थी संख्याका कारण उत्कृष्ट छनोटको मापदण्डभित्रै नपरेको सेन्टमेरजिले एकैपटक दोस्रो स्थान कब्जा गरेको छ। उसको औसत ९६ दशमलव ५ प्रतिशत उत्तीर्ण दर रह्यो। यस्तै, ग्लोबल कलेज अफ म्यानेजमेन्टले पनि मापदण्डभित्र परेको पहिलो वर्षमै १०औँ स्थान ओगटेको छ। उसले भने विगत चार वर्षमा ८७ दशमलव ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण गरायो। यही अंक यसपालि उत्कृष्ट १० मा पर्ने न्यूनतम अंक बन्यो। गत वर्ष यो सीमा ८३ दशमलव ६२ प्रतिशत थियो। यसले विद्यालयहरूबीच चर्कंदो प्रतिस्पर्धालाई विम्बित गर्छ।
गएको वर्ष उच्च माविहरूका लागि देशव्यापी रूपमा खराब नतिजाको वर्ष थियो। तर, उत्कृष्ट उच्च माविको सूचीमा चढ्न भने अंकको दायरा बढेको पाइयो। कम्तीमा ७५ दशमलव ९६ प्रतिशत औसत उत्तीर्ण गराउन सक्ने विद्यालय मात्र यस वर्ष २५ राम्रा विद्यालयको सूचीमा परेका छन्। नयाँ विद्यालयको प्रविष्टिले गत वर्षको उत्कृष्ट सूचीबाट केहीले हट्नुपरेको छ। पोहोर सातौँ स्थानमा रहेको विराटनगरको मेरल्ियान्ड यसपालि ९२ दशमलव १८ प्रतिशत ल्याएर चौथोमा उक्लियो भने युनाइटेड एकेडेमीले ९१ दशमलव ३० अंकका साथ पुरानै पाँचौँ स्थान सुरक्षित गर्‍यो। विराटनगरकै कलेज अफ बिजनेस एन्ड सोसल स्टडिजले पनि ८९ दशमलव ७६ प्रतिशतका साथ गत वर्षकै आठौँ नम्बर सुरक्षित गर्‍यो। गत वर्ष छैटौँ स्थानमा परेको लिटिल एन्जल्स यसपटक ८८ दशमलव ५३ अंक ल्याएर नवौँमा पुग्यो। काठमाडौँ मोडलले पोहोरभन्दा नतिजा बढाए पनि ९६ दशमलव २४ अंकका साथ एक स्थान तल झर्नुपर्‍यो। गत वर्ष तेस्रो भएको पोखराको सगरमाथाले ९० दशमलव ७४ अंकका साथ सातौँ स्थानमै चित्त बुझाउनुपर्‍यो। पोहोरको चौथो नेसनल स्कुल अफ साइन्स -निस्ट)ले ९० दशमलव ७६ प्रतिशत औसत नतिजा ल्याएर छैटौँ स्थान पाएको छ।
गत वर्षका २५ राम्रा विद्यालयको सूचीबाट यसपालि छवटा बाहिरिएका छन्। निजी क्षेत्रका विद्यालयको चर्को प्रतिस्पर्धाका बीच पोखराको अमरसिंह उच्च माविले सामुदायिक विद्यालयका तर्फबाट पहिलोपल्ट राम्रा उच्च माविहरूको सूचीमा नाम दर्ता गराएको छ। अघिल्ला वर्षमा उत्कृष्टताको सूचीमा दरिंदै आएका उपत्यकाबाहिरका रूपन्देही र चितवनको अवस्था यसपटक भने कमजोर देखियो। यद्यपि, अर्किड साइन्स उच्च माविले राम्रा उच्च माविको लहरमा चितवनको उपस्थिति जनायो भने रूपन्देही शून्यमा झर्‍यो। उता, धनुषाबाट पहिलोपल्ट मोडल उच्च माविले यस सूचीमा प्रवेश पाएको छ।

छनोट विधि
छनोटका क्रममा उच्च माध्यमिक शिक्षा परिषद्ले शैक्षिक सत्रको अन्त्यमा लिने कक्षा ११ र १२ को परीक्षाको नतिजालाई प्रमुख आधार मानिएको छ । ०६७ सालको ११ र १२ कक्षाको परीक्षामा सहभागी भएका विद्यालयको संख्याले ती दुवै कक्षाका विद्यार्थी संख्यालाई भाग गरी औसत विद्यार्थी संख्या निकालिएको छ । औसत विद्यार्थी संख्या १ सय १९ कायम भएकाले त्यसैलाई न्यूनतम मापदण्ड मानिएको छ । त्यसैले ०६४ देखि ०६७ सम्मका अन्तिम परीक्षामा १ सय १९ भन्दा बढी विद्यार्थी सहभागी गराएका विद्यालयमध्येबाट उत्कृष्ट विद्यालय छानिएका छन् ।
थोरै विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि नभएका होइनन् । तर, औसत विद्यार्थी नपढाउने त्यस्ता विद्यालय छनोट सूचीमै परेनन् । केही भने न्यूनतम मापदण्डभित्र परेर पनि उतारचढावपूर्ण नतिजाका कारण समग्र मूल्यांकनमा कमजोर देखिए । त्यसैले मुलुकभरबाट राम्रा विद्यालयमा छानिएका यी यस्ता विद्यालय हुन्, जसको उत्तीर्ण दरमा धेरै उतारचढाव देखिँदैन । उत्तीर्ण दरको स्थिरताले नै धेरै हदसम्म विद्यालयको स्तर निर्धारण गर्छ । उत्कृष्टताको क्रम पनि औसत उत्तीर्ण प्रतिशतकै आधारमा निर्धारण गरिएको छ ।

१. सदावहार सर्वोत्कृष्ट

प्रसादी एकेडेमी उच्च मावि, मानभवन, ललितपुर

२. अलग धारमा अब्बल

सेन्टमेरिज उच्च मावि, जावलाखेल, ललितपुर

३. अभ्यासकेन्दि्रत अध्यापन

काठमाडौँ मोडल उच्च मावि, बागबजार, काठमाडौँ

४. फरक अभ्यास

मेरिल्यान्ड उच्च मावि, विराटनगर, मोरङ

५. बटमलाइन : अनुशासन र गुणस्तर

युनाइटेड एकेडेमी उच्च मावि, कुमारीपाटी, ललितपुर

६. पहिचानमा विशिष्ट

नेसनल स्कुल अफ साइन्सेज -निस्ट), लैनचौर, काठमाडौँ

७. पश्चिमको परिचय

सगरमाथा उच्च मावि, पोखरा

८.आत्मविश्वासमा अगाडि

कलेज अफ बिजनेस एन्ड सोसल स्टडिज उच्च मावि -कोबास), विराटनगर, मोरङ

९. भव्य संरचना, उत्कृष्ट नतिजा

लिटिल एन्जल्स उच्च मावि, हात्तीवन, ललितपुर

१०. व्यवस्थापनमा उम्दा

ग्लोबल कलेज अफ म्यानेजमेन्ट उच्च मावि, मध्यबानेश्वर, काठमाडौँ

No comments:

Post a Comment