Wednesday, April 22, 2015

नेपालमा कम्युनिस्टको प्रभाव र विस्तार

  • रामबहादुर रावल

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले गत २ चैत ०६९ मा नुवाकोटमा आयोजित एक कार्यक्रममा भनेका थिए, “कम्युनिस्टहरूको संख्या बढेका कारण लोकतन्त्रवादी शक्तिहरू कमजोर हुँदै गएका छन्। यदि लोकतन्त्रको पक्षमा माहौल बनाउने हो भने गाउँगाउँ पुगेर कम्युनिस्टहरूको संख्या घटाउनुपर्छ।” ०६४ को संविधानसभा चुनावमा कम्युनिस्टहरूको पक्षमा ६२ प्रतिशत मत आएको बताउँदै कांग्रेसका कार्यकर्ताहरू गाउँगाउँमा लोकतन्त्रको नारा लिएर नपुग्ने हो भने कम्युनिस्टहरूको संख्या अरू बढ्नेमा सचेत पनि गराएका थिए पौडेलले।

पौडेलले भनेजस्तै नेपालमा कम्युनिस्टहरूको संख्या लगातार बढिरहेको छ। जबकि, नेपाली कांग्रेसको स्थापनाको तीन वर्षपछि विसं ००६ मा मात्र नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। काठमाडौँ उपत्यकाका चार युवाहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र निरञ्जनगोविन्द वैद्यले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेर औपचारिक रूपमा थालनी गरेको कम्युनिस्ट राजनीति अहिले सुदूरपूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्म विस्तार भएको छ। २ सय ४० निर्वाचन क्षेत्रमध्ये आधा दर्जन क्षेत्र मात्र यस्ता छन्, जहाँ ०४८ यताका निर्वाचनमा कम्युनिस्ट झन्डा फर्फराएको छैन।
बाँकी सबै भूभागमा कम्युनिस्ट राजनीतिको प्रभाव र विस्तार कति प्रभावशाली रहेछ भन्ने कुरा ०६४ को संविधानसभा निर्वाचनलाई नै हेर्दा थाहा हुन्छ। उक्त निर्वाचनमा सबैभन्दा ठूलो पहिलो दलका रूपमा नेकपा माओवादी आयो भने दोस्रो भएको नेपाली कांग्रेसपछि तेस्रो ठूलो दलका रूपमा अर्को कम्युनिस्ट दल नेकपा एमाले थियो। त्यसमा माओवादीले प्रत्यक्षतर्फका २ सय ४० मध्ये ५० प्रतिशत अर्थात् १ सय २० सिट एक्लैले जितेको थियो। समानुपातिकबाट प्राप्त गरेको एक सयसमेत गरी उसले २ सय २०सिट प्राप्त गरेको थियो।
दोस्रो स्थानमा नेपाली कांग्रेस भए पनि तेस्रो स्थानमा कांग्रेसकै हाराहारीमा एमाले थियो। ३३ प्रत्यक्ष र ७० समानुपातिक सिट गरी उसले १ सय ३ सिट प्राप्त गरेको थियो। यसै गरी अन्य कम्युनिस्ट पार्टीमध्ये नेकपा माले आठ, जनमोर्चा नेपाल सात, नेकपा संयुक्त पाँच, राष्ट्रिय जनमोर्चा पाँच, नेकपा एकीकृत दुई र नेमकिपा चार सिटमा विजयी भएका थिए।
विसं ०१५ को निर्वाचनमा १ सय ९ सिटमध्ये कम्युनिस्ट पार्टीले चार सिट मात्र जितेको थियो, जुन कुल सिट संख्याको ४.५८ प्रतिशत थियो। उतिबेला पुग-नपुग पाँच प्रतिशत मात्र कम्युनिस्ट मत रहेकामा ५० वर्षपछि कम्युनिस्ट मत ६२ प्रतिशतसम्म पुग्नुले देखाउँछ, नेपालमा कम्युनिस्ट प्रभाव कुन हदसम्म विस्तार भएको रहेछ।
कम्युनिस्ट पार्टी स्थापनायताको ६५ वर्षको इतिहास हेर्ने हो भने नेपालका कम्युनिस्ट पार्टीहरू सयपटक भन्दा बढी विभाजित भइसकेका छन्। विभाजनले हरेक पार्टीलाई कमजोर बनाउँछ। तर, यसको विपरीत विभाजनका बाबजुद कम्युनिस्ट राजनीति र मतमा भने विस्तार हुँदै गएको देखिन्छ। ०१५ को निर्वाचनमा चार सिटमा विजय हासिल गर्दा कम्युनिस्ट पार्टी अविभाजित थियो। ०१९ पछि कम्युनिस्ट पार्टीमा विभाजन आउन थालेको हो। तर, विभाजनले पनि कम्युनिस्टहरूलाई चुनावी राजनीतिमा निष्प्रभावी भने बनाएन।
चुनावमा मात्र होइन, मुलुकको राष्ट्रिय राजनीतिमा समेत कम्युनिस्टहरूको जबरजस्त प्रभाव रहँदै आएको छ। ०५२ मा सुरु भएको माओवादी ‘जनयुद्ध’ले परम्परागत राष्ट्रिय राजनीतिलाई अर्कैतिर मोडिदियो, २ सय ४० वर्षको राजतन्त्र नै १० वर्षे कम्युनिस्ट विद्रोहका कारण समाप्त हुन पुग्यो। ०५२ मा माओवादीले ‘जनयुद्ध’ सुरु गरेको पाँच वर्ष पुग्दा नपुग्दै मुलुकको राजनीति उसैको वरिपरि घुम्न थाल्यो। ०२८ मा तत्कालीन नेकपा मालेले सुरु गरेको झापा संघर्षले पनि मुलुकको राजनीतिमा महत्वपूर्ण प्रभाव पारेको थियो।
०४८, ०५१ र ०५६ मा सम्पन्न प्रतिनिधिसभाका निर्वाचनमा मुलुकभरका ३३ प्रतिशत मतदाताले कम्युनिस्ट पार्टीप्रति समर्थन जाहेर गरेको देखिन्छ। गत संविधानसभामा माओवादी एक्लैले झन्डै ३० प्रतिशत मत पाएको थियो भने तेस्रो स्थानमा पुगेको एमालेले २० प्रतिशत। नेकपा माले, नेकपा संयुक्त, नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृतसमेतले पाएको मत जोड्ने हो भने पछिल्लो निर्वाचनमा कम्युनिस्टहरूले कुल मतदाताको ५८ प्रतिशत मत पाएको देखिन्छ भने संविधानसभाका ६ सय १ मध्ये ६२ प्रतिशत सिटमा कब्जा गरेको देखिन्छ।
सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ताहरू ढल्दै गएका बेला नेपालमा भने कम्युनिस्ट उभार सुरु हुन थालेको थियो। विश्वभर कम्युनिस्ट सत्ता ढलिरहेका बेला नेपालमा चाहिँ कम्युनिस्टहरू किन बलिया बन्दै गए ? यो प्रश्नको जवाफ कम्युनिस्ट र गैरकम्युनिस्ट दुवैका लागि साँच्चिकै रोचक हुने देखिन्छ। यही सेरोफेरोमा समाजवादी आन्दोलनमा लागेका नेपाली कांग्रेसका नेता एवं राजनीतिक चिन्तक प्रदीप गिरी र माक्र्सवाद एवं वामपन्थको सूक्ष्म अध्ययन गरेका पूर्वमन्त्री दीपक ज्ञवालीको विश्लेषण प्रस्तुत छ ।
नेपाल साप्ताहिक | अंक: ५६९ | २०७० कार्तिक २४  |

No comments:

Post a Comment