Tuesday, October 31, 2017

चुनाव चिह्न भाडामा

- रुन्चे राइँलो

यहाँ चुनाव चिह्न भाडामा पाइन्छ । समयमै दल दर्ता गर्न नसकेर चुनाव लड्न नपाएकाहरु, आफ्नो चुनाव चिह्नमा विश्वास नभएकाहरु जो जो हुनुहुन्छ, अब चिन्ता लिनुपर्दैन । आउनुहोस्, छिटो गर्नुहोस् । हाम्रो चुनाव चिह्न भाडामा उपलब्ध छ । 

सबै कानुनी प्रक्रिया पुगेको, उस्तै परे बैंक ग्यारेन्टी र बिमासमेतको व्यवस्था भएको चुनाव चिह्न हामीसँग छ । हाम्रो चिह्न आममतदाताबीच परिचित भएकाले विज्ञापनमा धेरै खर्च गर्नु पर्दैन ।

दसैँ, तिहार, छठ, नेपाल संवत्को नयाँ वर्षलगायत सम्पूर्ण चाडपर्वको अवसरमा हामीले चुनाव चिह्नसम्बन्धी विभिन्न स्किम सार्वजनिक गरेका छौँ ।

एउटा मात्र चुनाव लड्ने, दुईवटा चुनाव लड्ने, पाँच वर्ष, १० वर्ष, १५ वर्ष, २० वर्षदेखि ४० वर्षसम्म हाम्रो चुनाव चिह्न लिजमा उपलब्ध छ । 


सेवा, सर्त र भाडा शुल्क आपसी समझदारीमा तय गरिनेछ । विस्तृत जानकारीका लागि पार्टी मुख्यालयमा सम्पर्क गर्नुहोला । दलालमार्फत आउँदा विशेष छूट पाइनेछ ।

No comments:

Post a Comment