Monday, October 9, 2017

शीर्षस्थ अधिवक्ता

- रुन्चे राइँलो

एकाध वकिललाई अहिले भ्याइनभ्याइ छ सिंहदरबारमा । पेसाले वकिल भए पनि उनीहरु अदालतमा भन्दा सिंहदरबारमै बढी रमाउँछन् । अझ भनौँ, सिंहदरबारबाटै अदालत चलाउने खुबी उनीहरुसँग छ । त्यही खुबीको सम्मानस्वरुप अदालतले पनि वरिष्ठ अधिवक्ताको पगरी गुथाइदिएको छ । तर, रुन्चे राइँलोलाई लाग्छ, वरिष्ठ अधिवक्ता मात्र भन्नु तिनको योग्यतामाथि अन्याय गर्नु हो । 

उनीहरु प्राय: शीर्षस्थ नेताहरुसँग हुन्छन् । शीर्षस्थ नेताहरुप्रति तिनको समर्पणबारे हजार जिब्रा भएका शेष नागले पनि वर्णन गर्न सक्दैनन् । राजनीतिक दाउपेच र छलछामका निम्ति शीर्षस्थ राय तिनैले दिन्छन् । पार्टीका शीर्षस्थहरु भ्रष्टाचारमा चुर्लुम्म डुब्न थाल्दा उम्किने बाटो तिनैले दिन्छन् । 


लोकमानहरुलाई जोगाउनेदेखि सुशीलाहरुमाथि महाभियोगको ब्रह्मास्त्र प्रहार गर्नेसम्मका अक्कली रायहरु तिनैका खुरापाती मगजको उपज थियो । अहिले तिनीहरुको काँधमा मुलुकका शीर्षस्थ भ्रष्टाचारीहरुलाई यथाशीघ्र राजनीतिमा आउने कानुनी बाटो खोलिदिनुपर्ने भएको छ । रातोदिन त्यसै ध्याउन्नमा लागेका ती वरिष्ठ अधिवक्ताहरुलाई बरु अबदेखि शीर्षस्थ अधिवक्ता पो भन्ने कि ?

No comments:

Post a Comment