Monday, October 9, 2017

वरिष्ठका बहुरूप



- रुन्चे राइँलो

वरिष्ठ अधिवक्ताको हुलमा २ सय ७२ जना नयाँ वरिष्ठ थपिएछन् । हामीले गौरव गर्नुपर्छ, यति धेरै वरिष्ठ भएको मुलुकका नागरिक हुन पाएकामा । अदालतको दैलो नदेखेको जुग बिते पनि, मुद्दाका पक्षहरुले पत्याउन छाडेपछि अर्कै पेसा रोजे पनि अदालतले एक से एक वरिष्ठहरुको हिसाबकिताब राखेको रहेछ । अदालतको अभिलेख पद्धतिलाई त झन् सय तोपको सलामी दिनुपर्ने भएछ ।

वास्तवमा वकिल भएपछि मुद्दाका पक्षहरुकै लागि वकालत गर्नैपर्छ भन्ने के छ र ? इजलास धाउनैपर्छ भन्ने पनि छैन । न्यायाधीशका निवास र च्याम्बर धाउनु पनि त वकालत नै हो नि, होइन र ? पार्टीको वकालत गर्नु पनि वकालत नै हो । नेताको वकालत गर्नु झन् नम्बरी वकालत हुने भइगयो । फेरि सबै दल, वर्ग, क्षेत्र, आवासीय, गैरआवासीय सबैलाई भाग पुर्‍याएर समावेशी बनाउनैपर्‍यो ।

एकाध वर्षयता त न्यायाधीश र प्रधानन्यायाधीशकै पक्ष र विपक्षमा वकालत गर्नु सर्वाधिक नाफाको वकालती बनेको छ । अझ सिनियर एड्भोकेटको अर्थ नै कुनै न कुनै शक्तिकेन्द्रको ‘नियर’ भएर पाइने उपाधि नै हो । कोही ‘ए’को नियर भए, कोही ‘बी’को त कोही ‘सी’को । बरु को कसको नियर हो, त्यसै अनुसार एनियर, बीनियर र सीनियर उपाधि दिएको भए सबैलाई छर्लंग हुन्थ्यो कि सम्माननीयज्यू ?


No comments:

Post a Comment