Thursday, January 29, 2015

अख्तियारले देख्यो एक वर्षमा एक अर्ब ६६ करोड रुपियाँको भ्रष्टाचार



अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
 
मितिः२०७१।१०।१३
प्रेस विज्ञप्तिः
सम्माननीय राष्ट्रपति समक्ष आयोगको बार्षिक प्रतिवेदन पेश गरिएको सम्बन्धमा ।
श्री प्रधान सम्पादकज्यू/सम्पादकज्यू,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री लोक मान सिंह कार्कीले आज एक समारोहकाबीच सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यू समक्ष आयोगको चौविसौं बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । सम्माननीय राष्ट्रपतिज्यूको कार्यालय, शीतल निवासमा आयोजित कार्यक्रममा प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त कार्कीले आयोगले आफ्नो कार्यसम्पादन गर्दा आमनागरिकको हितलाई केन्द्र विन्दुमा राखी सदाचार, निष्पक्षता र निर्भीकता भन्ने मान्यतालाई मूलमन्त्रको रूपमा आत्मसात् गरेको र यसबाट मुलुकमा सुशासनको प्रवर्द्धन गर्ने बृहद् राष्ट्रिय उद्देश्य हासिल गर्ने दिशामा ठोस योगदान पुग्ने कुरा बताउनु भयो ।
सार्वजनिक सरोकारका कुनै पनि क्षेत्र भ्रष्टाचारको दुष्चक्रबाट अछुतो रहन नसकेको आभास हुन थालेको बताउँदै सो अवसरमा प्रमुख आयुक्त कार्कीले राजनीतिक अस्थिरता र लम्बिदों राजनीतिक संक्रमणका कारण स्वेच्छाचारिता बढ्दै गएबाट आमनागरिकहरु राज्यप्रदत्त सेवा र सुविधा प्राप्त गर्ने नैसर्गिक अधिकारबाट वञ्चित हुनुपरेको कुरा पनि बताउनु भयो ।
प्रतिवेदन पेश गर्ने क्रममा प्रमुख आयुक्त कार्कीले सार्वजनिक सेवाको वितरणमा प्रभावकारिता अभिवृद्धि गर्ने र विकास निर्माणका काममा चुस्तता ल्याउने तर्फ आयोगको प्रयास केन्द्रित रहेको धारणा व्यक्त गर्दै सार्वजनिक निकाय र पदाधिकारीहरूलाई जनताको हितमा केन्द्रित भई काम गर्न निरन्तर झक्झक्याउने काम गरिरहेको कुरा पनि बताउनु भयो । अहिले आयोगका सामु अनेकौ चुनौतिहरु रहेको भएपनि त्यस्ता चुनौतिको सामना गर्दै कुनै पनि तह र स्वरुपका भ्रष्टाचारजन्य कार्यहरूको पहिचान गर्ने, सूचना संकलन गर्ने र आवश्यक अनुसन्धान तहकिकात गरी कारबाहीको दायरामा ल्याउने कार्यमा कुनै कसर बाँकी नराख्ने दृढता समेत प्रमुख आयुक्त कार्कीले सो अवसरमा व्यक्त गर्न भयो ।
प्रमुख आयुक्त कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलुकमा भ्रष्टाचार र अनियमित क्रियाकलापहरुको नियन्त्रण र नियमन गर्ने सरकारको एक परिपूरक अङ्ग भएको तथ्य औंल्याउँदै सामाजिक विकास र पूर्वाधारका क्षेत्रमा राज्यका तर्फबाट गरिने प्रत्येक लगानी र सरकारका प्रयासहरूप्रति आयोग सदा सहयोगी र सकारात्मक रहने कुरा समेत अवगत गराउनु भयो । त्यसैगरी भ्रष्टाचार नियन्त्रण गर्ने दिशामा प्रतिवेदनमा समाविष्ट सुझावहरूको प्रभावकारी कार्यान्वयन भएमा सार्वजनिक क्षेत्रमा अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने कुरामा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्दै प्रमुख आयुक्त कार्कीले सो अवसरमा आयोगले दिएका सुझावहरुलाई परम्पराको रुपमा मात्र नलिन नेपाल सरकारलाई आग्रह पनि गर्नु भयो ।
वार्षिक प्रतिवेदन पेश गर्ने क्रममा प्रमुख आयुक्तले आर्थिक वर्ष २०७०÷७१ मा आयोगमा कुल २२,६०२ उजुरीहरू प्राप्त भएकोमा करिब ६८ प्रतिशत उजुरीहरू फर्छयौट भएको जानकारी दिनु भयो । त्यसैगरी सो आर्थिक वर्षमा ६५२ जना व्यक्तिलाई प्रतिवादी बनाई कुल १६८ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको र रु. १ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढी बिगो माग दाबी लिइएको व्यहोरा पनि प्रमुख आयुक्त कार्कीले सो अवसरमा जानकारी गराउनु भयो । सोही आर्थिक वर्षमा विभिन्न मुद्धाहरूबाटरु. ३९ करोड ४८ लाख रुपैयाँ असुल उपर भएको अवगत गराउदैं माननीय प्रमुख आयुक्तले विशेष अदालतमा दायर गरिएका मुद्दाहरूमध्ये ८० प्रतिशत मुद्दामा आयोगलाई सफलता मिलेको तथ्य वारे पनि प्रकाश पार्नु भयो ।
समारोहमा आयोगको चौविसौं वार्षिक प्रतिवेदन ग्रहण गर्दै सम्माननीय राष्ट्रपति डा. रामवरण यादवले आयोगको कार्यसम्पादनको सराहना गर्नु भएको थियो । लामो समयदेखि मुलुक सङक्रमणकालिन अवस्थाबाट गुज्रिदै आएको बताउँदै सम्माननीय राष्ट्रपतिले हामी जो जहाँ भएपनि त्यो संस्थाको दायित्व पूरा गर्न र समाज सञ्चालनको आधुनिक पद्धति बसाल्न जरुरी भएको कुरा बताउनु भयो ।  प्रतिवेदन ग्रहणकै क्रममा सम्माननीय राष्ट्रपतिले प्रत्येक संस्थाले समाज र राज्यलाई फाइदा पुग्ने गरी काम गर्न जरुरी भएको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि आयोगले आफ्नो भूमिका बढाउन र निरोधात्मक र प्रवर्द्धनात्मक रणनीतिमा समेत जोड दिन निर्देशन दिनु भएको थियो ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२१ मा भएको व्यवस्था बमोजिम आयोगको चौविसौं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७०÷७१ मा सम्पादन गरेका कार्यहरूका अतिरिक्त भ्रष्टाचार नियन्त्रणका लागि आगामी दिनमा चाल्नुपर्ने कदमका सम्बन्धमा आवश्यक सुझावहरू समेत समेटिएको छ । समारोहमा आयोगका माननीय आयुक्त श्री केशव प्रसाद वरालको उपस्थिति रहेको थियो। त्यसैगरी आयोगका का.मु. सचिव श्री प्रेम कुमार राई र अन्य उच्चपदस्थ अधिकृतहरुको पनि सो अवसरमा उपस्थिति थियो।
 
(श्रीधर सापकोटा)
सहन्यायाधिवक्ता एवं प्रवक्ता

No comments:

Post a Comment