Wednesday, February 1, 2017

दागी कमान्डर : कोषराज वन्त

सशस्त्र प्रहरी महानिरीक्षकको पदमा बहाल रहेकै बेला कोषराज वन्तमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा कारबाही चलायो र निलम्बन गर्न सरकारलाई निर्देशन दियो । ६ करोड ७९ लाख रुपियाँ भ्रष्टाचार गरेको छानबिनबाट देखिएपछि अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो ।

मुलुकको अर्धसैन्य फौजको प्रमुखमा बहाल रहेकै बेला भ्रष्टाचार मुद्दा लागेर पदमुक्त भएको यो नै पहिलोपल्ट हो । राष्ट्रिय सुरक्षाजस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको निकायका प्रमुखमाथिको यो अभियोगले सिंगो संगठनकै मनोबल र छविमै आँच पुग्यो । साथै, यो सुरक्षा संगठनमा आर्थिक अराजकता कुन हदसम्म चुलिएको रहेछ भन्ने कुराको पोल पनि उनैबाट खुल्यो ।

त्यति मात्र होइन, विगतका सबै जीवित सशस्त्र प्रहरी महानिरीक्षकहरूमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चल्यो । उच्च नैतिक, चरित्रवान् र राज्यको विश्वासिलो व्यक्ति हुनुपर्ने ठाउँमा कति अव्यावसायिक र असंवेदनशील व्यक्ति त्यो संगठनको नेतृत्वमा पुगेका रहेछन् भन्ने कुरा वन्तबाटै खुल्यो, जसले किन्दै नकिनेको सामानको नक्कली बिल भर्पाई बनाएको, ती सामान मातहतका विभिन्न युनिटमा पठाएको यातायात खर्चसमेत आफैँले लिएको अभियोग बेहोरे । 

No comments:

Post a Comment