Tuesday, August 16, 2011

पार्टीका प्राज्ञ र शिक्षामन्त्री


शिक्षामन्त्री गंगालाल तुलाधरले मुलुकका चार विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि राजनीतिक भागबन्डा नगर्ने भन्दै नयाँ सूत्र सार्वजनिक गरे। उपकुलपतिका आकांक्षीहरूबाट योजना र प्रस्ताव माग गरी तिनैबाट योग्य छानेर नियुक्तिका लागि सिफारसि गर्ने उनको भनाइ थियो। तर, राजनीतिक भागबन्डामा नलाग्ने सार्वजनिक वाचा गरेका मन्त्री तुलाधर अहिले आफ्नै पार्टी नेकपा एमालेका कारण अप्ठ्यारोमा परेका छन्। कुरा के पर्‍यो भने एमालेकै दुई अलगअलग संयन्त्रले अलगअलग व्यक्तिका नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारसि गरेका छन्। ती सिफारसि मानौँ भने एक त आफ्नै वाचाको विपरीत हुने, नमाने पार्टीको निर्देशन नमानेको आरोपमा कारबाहीमा परनिे डर। अर्कोतर्फ दुईमध्ये कुनचाहिँ संयन्त्रका सिफारसि मान्ने ?

राज्यका विभिन्न संयन्त्रमा नियुक्तिका लागि सिफारसि गर्न बनाइएको एमालेको राज्यव्यवस्था विभागले हीराबहादुर महर्जनलाई सिफारसि गरेको छ। महर्जन त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसका पूर्वप्रमुख हुन्। राज्य व्यवस्था विभाग प्रमुख राजेन्द्र पाण्डे छन्। उता, एमाले केन्द्रीय सचिवालयले कृष्ण मानन्धर, कृष्णबहादुर थापा र पेशल दाहालमध्येबाट नियुक्त गर्न सिफारसि गरेको छ। सचिवालयमा महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवाली, कार्यालय सचिव पर्शुराम मेघी गुरुङलगायत छन्।

गत १७ वैशाखदेखि मुलुकका चार विश्वविद्यालय त्रिभुवन, पोखरा, पूर्वाञ्चल र नेपाल संस्कृत उपकुलपतिविहीन छन्। यसअघि प्रमुख राजनीतिक दलहरूबीच भागबन्डामा ती उपकुलपतिहरू नियुक्त गरिएका थिए। फेरीपनि भागबन्डा नै चल्ने निश्चितप्राय: रहेको शिक्षामन्त्रीनिकट स्रोत बताउँछ। त्रिभुवनमा एमाले, पोखरामा माओवादी, नेपाल संस्कृत र पूर्वाञ्चलमध्ये एकमा कांग्रेस समर्थक प्राज्ञलाई उपकुलपति नियुक्तिको तयारी भइरहेको स्रोतको भनाइ छ। तर, मन्त्री तुलाधर आफ्नै पार्टीका दुई शक्तिशाली ठाउँबाट अलगअलग सिफारसि आएपछि चेपुवामा परेका छन्। यद्यपि, ती दुवै सिफारसिमा परेका नाम मन्त्री तुलाधरलाई चित्त बुझेको छैन।

No comments:

Post a Comment