Thursday, August 25, 2011

मलेसिया निर्माणको पूर्वपीठिका


मले द्विविधा
मूल लेखक : महाथिर बिन मोहम्मद
अनुवादक कोमल भट्टराई/यमनाथ बराल
प्रकाशक : एसिया पब्लिकेसन्स
पृष्ठ : १८८
मूल्य : १८० रुपियाँ

भनिन्छ, नेताको जीवनीले कुनै पनि राष्ट्रको विकासको कथा बोल्नुपर्छ। जस्तो कि महाथिर बिन मोहम्मदको जीवन-कथा आधुनिक मलेसियाको अपत्यारलिो विकास-गाथा बन्न जान्छ। मले द्विविधा उनको जीवनी वा आत्मकथा होइन। तैपनि, मलेसियालाई एसियन टाइगर बनाउन कम्मर कस्दाको पूर्वपीठिका हो यो।
आधुनिक संसारका सबैभन्दा दूरदर्शी नेताहरूको सूची तयार पार्ने हो भने महाथिरको नाम अग्रपंक्तिमा आउँछ। देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सम्पन्न बनाउने हो भने भाषण गर्ने नेता होइन दूरदर्शी, देश हाँक्न सक्ने र विकासको खाका कोर्न सक्ने निष्पक्ष, सर्वमान्य, राष्ट्रवादी र कर्मयोगी नेता चाहिन्छ भन्ने सन्दर्भमा महाथिरको दृष्टान्त दिइन्छ। दूरदर्शी नेताको अभावमा हामी तन्नम देशको नागरकि हुनुपरेको भन्दै नेपालमा महाथिरजस्तै नेताको जन्मका लागि पुकारा गर्नेहरू पनि कम छैनन्। हुन पनि १९६० को दशकको नेपाल र मलेसियाका विकासका सूचकहरू समान थिए। सन् १९८८ र १९९७ को बीचमा मलेसियाली जनताको आर्थिकस्तर २० गुणाले वृद्धि भयो, नेपाल जहाँको त्यहीँ।
मलेसियाको समृद्धिका शिल्पी एवम् सूत्रधार मानिने महाथिरको आर्थिक र सामाजिक पुन:संरचनाको योजना बुन्ने कौशलको प्रारम्भिक प्रस्तुति हो, मले द्विविधा। अंग्रेजी नाम द मले डिलेमाको नेपालीकरण हो, मले द्विविधा। महाथिर प्रधानमन्त्रीको कुर्सीमा पुग्नुभन्दा ११ वर्षभन्दा अघि छापिएको थियो यो पुस्तक। महाथिरले यो पुस्तक छपाएपछि १० वर्षसम्म त प्रतिबन्धित नै भयो। संयोग नै भन्न सकिन्छ, उनी प्रधानमन्त्री भएपछि मात्रै प्रतिबन्ध फुकुवा भयो।
अंग्रेजी भाषामा पकड भएका जिज्ञासु पाठकले यसको मूल स्वरूप नै पढिसकेको वा पढ्न सक्ने भए पनि नेपालको सान्दर्भिकता हेरेर नै अनुवादक/प्रकाशकले नेपाली भाषाका पाठकसम्म पुर्‍याउने जमर्को गरेको देखिन्छ। अनुवादकद्वयले सुरुमै भनेका पनि छन्, "नेपालको आदिवासी, विकट भौगोलिकवासी र आप्रवासीमिश्रति मधेसी आन्दोलनलाई हेर्न, बुझ्न र सम्बोधन गर्नका लागि सन्दर्भ सामग्री बन्न सक्छ।" त्यसैले यस पुस्तकले हाम्रा नेता र सामाजिक कार्यकर्ताहरूलाई समेत उपयोगी खुराक दिनेछ।
औपचारकि अध्ययनका दृष्टिले चिकित्सक भए पनि उनी युनाइटेड मले नेसनल अर्गनाइजेसन -यूएमएनओ) नामक राजनीतिक संगठनमा कार्यकर्ताका रूपमा क्रियाशील भए । उनले राखेका आर्थिक र सामाजिक पुन:संरचनाबारे दृष्टिकोण विवादास्पद मात्रै भएनन्, पटकपटक पार्टीबाट कारबाही र निष्कासनसम्म बेहोरे। यो पुस्तक पनि उनलाई कारबाही गरिएको अवधिमै लेखिएको थियो। १३ मे १९६९ का दिन भएको जातीय दंगासम्म मलेसियाली समाज कसरी आइपुग्यो, राज्यका तर्फबाट कहाँनिर गल्ती भयो, त्यहाँ उपनिवेश जमाउने बेलायत र जापानको रवैया के रह्यो, मलाया युनियन गठनको अभियानप्रतिको मलेहरूको असन्तुष्टि, आप्रवासी चिनियाँहरूको आर्थिक प्रभुत्व र मलेहरूको पलायनका पक्षहरूलाई एक-एक गरी महाथिरले केलाएका छन्। र, जातीय विग्रहको कारणबारे आमबुझाइभन्दा फरक दृष्टिकोण उनले पेस गरेका छन्।
१९८१ मा मलेसियाको चौथो प्रधानमन्त्रीका रूपमा सत्ताको कमानी सम्हाल्न पुगेका महाथिर २२ वर्षसम्म त्यही पदमा रहे। त्यस अवधिमा दिलाएको चामत्कारकि आर्थिक समृद्धि र सामाजिक व्यवस्थापनको सूत्र के थियो भन्ने यस पुस्तकबाट थाहा हुन्छ। उनले आफ्नो मुलुकको सामाजिक संरचना, जनताको जीवनपद्धति, विभेद र पछौटेपनका कारण र प्रवृत्ति, उन्नति र समानता कायम गर्ने आधार र उपायबारे उनको दृष्टिकोण यस पुस्तकमा समाविष्ट छ। जातीय समानता र राष्ट्रिय एकताका आधारहरू के-के हुन सक्छन् भन्ने सन्दर्भमा उनले प्रस्तुत गरेका विचार नेपालको सन्दर्भमा समेत मननीय छन्।
महाथिरले महान् र दूरदर्शी नेताको परचिय नपाउँदै लेखिएको यो पुस्तक सुरुबाटै चर्चा र प्रहारको तारो बनेको थियो। खासमा मलेसियाको आर्थिक समृद्धि र सामाजिक इन्जिनियरङि्को स्रोत सामग्रीका रूपमा यस पुस्तकलाई लिइन्छ। सक्षम राजनेता बन्नका लागि आफ्नो मुलुकको भूगोल, इतिहास, सामाजिक स्वरूप, जनताको जीवनपद्धति, आर्थिक व्यवहारहरूबारे कति मिहिन रूपमा अध्ययन गर्नुपर्दो रहेछ भन्ने कुराको उदाहरणसमेत मले द्विविधा हो। उनले मलेसियाको जातीय बनोटलाई अत्यन्त मसिनो गरी केलाएका छन्। पुस्तकमा उनीहरूको आनीबानी, किनमेल प्रवृत्ति, व्यावसायिक चेतना, सामाजिक अन्तरक्रिया, परम्परागत रीतिथितिको मानवीय र जैविक विकासमा परेको असरका बारेमा वैज्ञानिक र तथ्यपरक सन्दर्भ दिएर प्रस्तुत गरिएको छ।
पुस्तकको सबैभन्दा रोचक र मौलिक पक्ष के छ भने कुनै पनि जाति वा समुदाय आनुवांशिक तथा वातावरणीय प्रभावका कारण विकासको अवसरबाट वञ्चित वा लाभान्वित हुने कुरामा फरक पार्न सक्छ कि सक्दैन, विकासको प्रतिफलबाट टाढा वा नजिक हुनसक्छ कि सक्दैन भन्ने प्रश्नलाई जीववैज्ञानिक र मानवशास्त्रीय पक्षबाट केलाएका छन्। त्यसका लागि उनले विज्ञहरूको सहयोग लिएका छन्। वैज्ञानिक प्रयोग र अनुसन्धानहरूको सहायता लिएका छन्। र, निचोडमा भनेका छन्, आनुवांशिकता र जीवनपद्धतिले नै पनि कुनै जातिगत समूह समाज विकासको मूलप्रवाहबाट किनारीकृत हुन सम्भव छ। अनि, त्यस्ता समुदायको मूलप्रवाहीकरण पनि सम्भव छ भन्दै त्यसका उपाय पनि पुस्तकमा उल्लेख गरेका छन्, महाथिरले।
यो पुस्तक पढ्दै जाँदा हामीकहाँ किन जातीय आडमा राजनीति गर्न खोज्नेको संख्या बढ्दैछ ? आजको एक्काइसौँ शताब्दीमा जात, वर्ग, धर्म, वर्णका सीमा भत्काएर समाज विकास भइरहेका बेला पनि जातीय विग्रहमै बल पुग्ने गतिविधिलाई प्रोत्साहित गर्नेहरूको स्वर किन चर्को भइरहेको छ भन्ने यस पुस्तकले छर्लंग पार्छ। संकीर्ण ज्ञान र स्वार्थका कारण जातीय आडमा राजनीति गर्ने, जातीय भावना फैलाउने र अन्तत: जातीय विग्रहमै आफ्नो भविष्य देख्नेहरूलाई लक्षित गदर्ैै महाथिरले भनेका छन्, "जब जातिहरू नछुट्टनिे गरी घुलमिल हुन्छन्, जातीय राजनीति मक्किएको डोरीजस्तो हुने मात्रै होइन, तिनीहरूले आफ्नो अस्ितत्वरक्षाका लागि आवश्यक समर्थकसमेत पाउँदैनन्।"
पुस्तक अनुवादका लागि प्रतिलिपि अधिकार लिए/नलिएको, भाषिक शुद्धता, सज्जा र अनुवाद पद्धतिलगायत पक्षमा पर्याप्त बहस गर्न सकिन्छ। पुस्तक र लेखकको नामको उच्चारण र एकरूपतादेखि नै कमजोरी औँल्याउन सकिन्छ। तर, यस्तो महत्त्वपूर्ण सामग्री नेपाली भाषाका पाठकको पहुँचमा पुर्‍याउने प्रयासलाई सराहनीय नै मान्नुपर्छ। कम्तीमा अहिले संविधान निर्माण र राज्यको पुन:संरचना गर्न तम्सेका सभासद्हरूले यो पुस्तक पढिदिए मुलुकका निम्ति केही सकारात्मक योगदान पुग्न सक्छ।



No comments:

Post a Comment