Monday, August 29, 2011

खनाललाई आफ्‍नै चिन्ता


नेकपा एमालेका युवा नेता गोकर्ण विष्ट ऊर्जामन्त्री बनेपछि जलविद्युत् लगानी तथा विकास कम्पनीको चर्चा खूबै चलेको छ। यसबारे खासै नकारात्मक टीकाटिप्पणी पनि भएका छैनन्। सरकारले नै यस कम्पनीमा सेयर र ऋण लगानी गर्ने भएपछि लोडसेडिङ्को मारले आक्रान्त उपभोक्ताले राहतको आश पनि त गर्नैपर्‍योे। तर, आफ्नै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री झलनाथ खनालले भने ऊर्जामन्त्री विष्टको अग्रसरतामा गठित कम्पनीको उद्घाटन कार्यक्रममै असन्तोष पोखे।
१० साउनमा आयोजित उक्त सार्वजनिक कार्यक्रममा खनालले २५ मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनामा मात्रै लगानी गर्ने नीतिप्रति असहमति राख्दै भने, "ठूला आयोजनामा मात्रै लगानी गर्ने यस्तो व्यवस्था किन गरयिो, मैले बुझ्न बाँकी छ। तर, मेरो धारणाचाहिँ पाँच मेगावाटसम्मका आयोजनामा पनि यस कम्पनीले लगानी गर्नुपर्छभन्ने हो ।" प्रधानमन्त्रीले नै आलोचना गरेपछि मञ्चमा बसेका ऊर्जामन्त्री विष्ट, सचिव बालानन्द पौडेल र नेपाल राष्ट्र बैँकका गभर्नर युवराज खतिवडाले मुखामुख गरे। दर्शकदीर्घामा रहेका अन्य सहभागीले पनि प्रधानमन्त्री खनालको अभिव्यक्तिप्रति आश्चर्य प्रकट गरे। एमालेकै कोटाबाट गभर्नर बनेका युवराज खतिवडाले त मञ्चबाटै 'स-साना व्यवस्थापकीय काममा अल्भिmनु हुँदैन। ठूला परयिोजनामा मात्र लगानी गर्नुपर्छ' भनेर कम्पनीको नीतिबारे प्रस्ट पारेका थिए।
तर, एमालेभित्र भने खनालको उक्त अभिव्यक्तिको गुह्यबारे अर्कै चर्चा छ। खनाल स्वयंको लगानी रहेका जलविद्युत् आयोजनाहरू सबै २५ मेगावाटभन्दा कम क्षमताका छन्। त्यसैले, आफ्ना आयोजनाले सहुलियत नपाउने देखेपछि सार्वजनिक कार्यक्रममा तीतो पोखेका हुनसक्ने एमाले नेताहरू बताउँछन्। प्रधानमन्त्री खनालले १० मेगावाट क्षमताको सिक्लेस हाइड्रोपावर र २० मेगावाटको युनिफाइड हाइड्रोपावरमा लगानी गरेका छन्। उनले सिक्लेसमा ८ लाख ४० हजार र युनिफाइडमा ११ लाख ४० हजार रुपियाँ लगानी गरेका उनको सम्पत्ति विवरणमा उल्लेख छ।

No comments:

Post a Comment