Tuesday, September 13, 2011


अभियुक्तको रुवाबासी


रातो पासपोर्ट दुरुपयोगमा सघाउ पुर्‍याउनेमध्येका प्रमुख अभियुक्त भूमिनन्द भण्डारीको रुवाबासी देखेर विशेष अदालतका कर्मचारी नै छक्क परे। सभासदद्वय बीपी यादव र गायत्री साहको कूटनीतिक राहदानी दुरुपयोग प्रकरणका अभियुक्तहरूको तारेख थियो त्यस दिन। विमानस्थल अध्यागमन कार्यालयका अधिकृत भण्डारी अदालतमा हाजिर भएर र्फकनै लाग्दा अर्का अभियुक्त खडानन्द ढकालसँग प्रवेशद्वारमै जम्काभेट भयो। भण्डारीले ढकाललाई देख्नेबित्तिकै एकोहोरो माफी र पश्चात्तापका शब्द बर्साए। त्यति मात्रै होइन, अख्तियारका अनुसन्धान अधिकृत रामकुमार आचार्यलाई समेत सत्तोसराप गर्न थाले।

उनले बताए अनुसार आचार्यले बयान लिँदा भण्डारीलाई छाडिदिने सर्तमा हाकिमलाई पोल्न लगाएछन्। आफू उम्किन पाइने भएपछि दुई तहमाथिका हाकिम ढकाललाई पोल्न तयार भए। पुन: बयान गराउन निवेदन पनि दिए। आचार्यले तत्कालै पुन: बयान गराए। त्यही बयानपछि हाकिम ढकाल पनि तानिए। भण्डारीले अभियोगपत्र अदालत पुगेपछि थाहा पाए, प्रमुख अभियुक्त त आफँै परेछन्। नहून् पनि किन ? पासपोर्ट दुरुपयोगकर्ता पृथ्वी छन्त्यालले बयानका क्रममा आफ्नो सम्पूर्ण हर्कतमा भण्डारीले साथ दिएको कुरा खोलिदिए। कूटनीतिक राहदानीमा छाप र स्िटकर लगाउन जानुपर्ने काउन्टरमा जानै नदिई भण्डारीले आफ्नै काउन्टरमा स्िटकर लगाइदिएछन्। अर्का सहकर्मीको छाप प्रयोग गरेछन्। यति मात्रै होइन, विदेशबाट शंकास्पद राहदानीवाहकलाई फर्काइँदा अध्यागमन विभागमा पठाउनुपर्ने कानुनी प्रावधान लत्याउँदै भण्डारीले 'स्कर्ट' गरेर विमानस्थलको गेटसम्मै छोडिदिएको प्रमाण फेला परेपछि कतैबाट उम्किने सम्भावना रहेन। अनि, अदालतबाहिर 'हाकिमसा'बलाई व्यर्थै पोलेछु' भन्दै भण्डारी रोइकराई गररिहे। 'आफू पनि भाँडियौ, अरूलाई पनि भाँड्यौ' भन्दै ढकालले धारे हात लगाए। अभियुक्तको साविती सुनेर अदालतका कर्मचारी अक्क न बक्क भए।

No comments:

Post a Comment