कहिले विभागीय मन्त्रीको उजुरी त कहिले आफ्नै सहकर्मीको। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यस्ता दर्जनौँ उजुरी परेका छन्, समाज कल्याण परिषद्का तीन पदाधिकारीविरुद्ध। आफूविरुद्धका उजुरीबारे अख्तियारमा बयान दिँदादिँदा हैरान भएका उपाध्यक्ष दाताराम खनाल, कोषाध्यक्ष रत्न गाहामगर र सदस्य-सचिव छेवाङ नाम्गेल शेर्पा अहिले अर्को झमेलामा फसेका छन्।
अख्तियारमा मात्रै सफाइ पेस गरेर उनीहरूलाई नपुग्ने भएको छ। उनीहरूलाई अहिले विदेशी दातृ निकाय र अन्तरर्ाष्ट्रिय गैरसरकारी संस्था -आईएनजीओ)हरूकहाँ सफाइ पेस गर्दैमा हैरानी छ। कुरा के परेछ भने अख्तियारमा एउटै बेहोराका दर्जनौँ उजुरी परेपछि पनि आफ्नो धोको पूरा नभएपछि परिषद्का केही सदस्यले आईएनजीओहरूलाई समेत इमेल पठाएछन्। इमेलमार्फत उनीहरूले खनाल, गाहामगर र शेर्पा तीनै जनाको नियुक्ति अवैध र उनीहरूको आचरण 'भ्रष्ट' भएकाले उनीहरूसँग व्यवहार नगर्न सचेत गराएका छन्। त्यसैले परिषद्का पदाधिकारीहरू अहिले विदेशीहरूलाई 'हामी भ्रष्ट होइनौँ, हामी अवैधानिक होइनौँ, बरु परिषद्मा भाइरस पसेको छ' भन्दै सफाइ पेस गरिरहेका छन्।
तीनै जनाले उजुरी गर्नेहरूलाई भाइरस भन्ने गरेका छन्। महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सर्वदेवप्रसाद ओझाले न्वारानदेखिको बल लगाउँदा पनि ती पदाधिकारीलाई हटाउन नसकेपछि बोर्डभित्रै बहुमत नपुग्ने गरी सात नयाँ सदस्य नियुक्त गरेका थिए। ओझाले मदनकुमार लालकर्ण, सचितानन्द बर्मा, हरि न्यौपाने, मोहनराज शर्मा, भोजराज श्रेष्ठ, जया सिंह र प्रकाश मुखियालाई परिषद् सदस्यमा नियुक्ति दिलाएका थिए। ती सदस्यहरूले परिषद्मा सुरुदेखि नै असहयोग अभियान थालेका थिए। परिषद्भित्रै अल्पमतमा पारेपछि पुराना पदाधिकारीलाई हटाउन सजिलो हुने मन्त्रीको अनुमानले पनि फेल खायो। त्यसपछि अहिले पुराना तीन र नयाँ सात पदाधिकारीबीच साँढे जुधाइ चलेको छ। यसको असर भने परिषद्का दैनिक गतिविधि र छविमै परिरहेको छ।
No comments:
Post a Comment