Tuesday, September 13, 2011

रामबहादुर रावल

क्याबात्, निजी शिक्षा !


प्रसंगवश, महँगा निजी विद्यालयले यूकेजीका बालबालिकालाई पढाउने सत्याल पब्लिकेसनको 'साहित्य वाटिका ख' हातमा पर्‍यो। पुस्तक पल्टाउँदै जाँदा 'चलाख स्याल' कथामा आँखा अडिए। छ हरफ पढ्दा आठ ठाउँमा गलत हिज्जे भेटिएपछि पहिलो गाँसमै ढुंगा लागेजस्तो भयो। कागज, आकार, सिलाइ र सज्जाका कुरा छाडौँ, भाषा शिक्षणका लागि निर्मित सामग्रीमा कम्तीमा व्याकरणका सामान्य नियम त ख्याल गर्नुपर्ने हो। तर, चन्द्रविन्दु, शिरविन्दु, उद्धरण चिन्ह र मात्राहरूको जथाभावी प्रयोग गरिएको। पल्टाउँदै जाँदा अन्यत्र पनि त्यस्तै। प्रकाशकीयदेखि कविता र अरू प्रबन्धात्मक सामग्रीको उही हालत। विशेषलाई विषेश, त्यहीँलाई त्यही, अट्दैनौँलाई अट्दैनँ, आउँछुलाई आँउछू लेखिएको। मानौँ, यो पाठ्यपुस्तक होइन, गल्ती कसरी गर्ने भन्ने सिकाउने साधन हो। २०५८ यता पाँचपटक पुन:मुद्रण र संशोधन भइसकेको यो पुस्तक १० वर्षमा कति विद्यार्थीले पढे हुन् ? कति शिक्षकले यसैलाई मानक ठाने हुन् ?

अन्यत्र पाठ्यसामग्री तयार गर्दा भाषाविद्, मनोविद्, शिक्षाविद्, समाजशास्त्रीसमेतको राय लिइन्छ। राज्यका आधिकारकि निकायबाट स्वीकृति लिएर मात्रै प्रकाशन र बिक्रीवितरण गरिन्छ। नेपालकै सरकारी शिक्षामा पनि यो लागू भएको छ। तर, हाम्रो निजी शिक्षामा गुणस्तर जाँच्ने कसले ? अभिभावकले सुकिला पोसाकमा महँगा विद्यालय पठाउनुलाई नै प्रतिष्ठा ठान्ने, विद्यालय सञ्चालकले विद्यार्थीबाट असुलेको पैसाले नपुगेर धेरै कमिसन दिने प्रकाशकको पुस्तक थोपर्न लगाउने, सरकारले पास-फेलको आँकडा राखेर कर्तव्य पूरा भएको ठान्ने। क्याबात्, निजी शिक्षा ! रफ कापीजस्तो पुस्तक पढाए पनि मालामाल भइने।

केयूमा राजनीति

मुलुकभरका शैक्षिक संस्था राजनीतिले थिलथिलो हुँदा पनि काठमाडौँ विश्वविद्यालय -केयू) अपवाद थियो। विद्यार्थी, प्राध्यापक र कर्मचारीका थरीथरी संगठनका बन्द, तोडफोडका घटना त्यहाँ हुन्थेनन्। त्यसैले केयूको प्रतिष्ठा पनि बेग्लै थियो। अब त्यस्तो अवस्था रहेन। अहिले केयूमा पालैपालो विद्यार्थी संगठन बन्द र तोडफोड गर्दै छन्, आपसमा भिड्दै छन्। त्यतिले नपुगेर काठमाडौँका गुन्डाहरू मोटरसाइकलका ताँती लागेर झ्यालढोका फुटाउन पुग्छन्।

केहीअघि विद्यार्थी कल्याण परिषद्को चुनावको बहानामा सबै विद्यार्थी संगठनका केन्द्रीय नेता धुलिखेलमा जम्मा भए। केन्द्रकै निर्देशन अनुसार माउ पार्टीका जिल्लास्तरका नेताले पनि दौडधूप गरे। बराबर मत आएपछि गोलाप्रथाबाट कांग्रेसनिकटका अध्यक्षमा चुनिए। माओवादी विद्यार्थीले भोलिपल्टैदेखि केयू ठप्प पारे। केयूको इतिहासमै पहिलोपल्ट हाताभर िराता झन्डा गाडिए। अर्कोतर्फ, केयू प्रशासनले निश्चित शिक्षक-कर्मचारीलाई लक्षित गरी अनिवार्य र स्वेच्छिक अवकाशका योजना ल्यायो। असन्तुष्ट प्राध्यापकले पार्टीका केन्द्रीय नेता गुहारे। उनीहरूकै गुनासोलाई आधार मानेर हुन सक्छ, तत्कालीन शिक्षामन्त्री एवं सहकुलपति गंगालाल तुलाधरले प्रशासनको प्रस्तावमा सहमति जनाएनन्। पछि प्रशासनले यसलाई अहम्को विषय बनाउँदै केही प्राध्यापकलाई स्पष्टीकरण सोध्यो। त्यसयता तनाव झन् बढेको छ। यसको असर शैक्षिक पात्रोमा पनि पर्न थालेको छ। प्रवेश परीक्षाको नतिजा एक साता ढिलो आयो। अरू केके हुने हो भन्ने चिन्ता अध्ययनशील विद्यार्थीलाई छ। उसै पनि आलोचना सुन्न नचाहने, आलोचना गर्नेलाई दबाबपूर्वक तह लगाउन खोज्ने, आफैँ राजनीतिक नेताहरूका दैलामा ढुक्ने, नेताविशेषको आशीर्वाद खोज्ने, महँगो चन्दा बुझाउने र अरूलाई चाहिँ राजनीति नगर भन्ने विसंगत अभ्यास केयू प्रशासनले गरिरहेको आरोप छ। कतै त्यसैको दुष्प्रभाव अहिले देखिन थालेको त होइन ?

ठूलाका भाइ हुनुको मज्जा

राज्यका कुनै अधिकारीलाई भ्रष्टाचार आरोपमा मन्त्रिपरिषद्ले नै बर्खास्त गर्छ। त्यसपछि ती अधिकारी र संस्थाबारे कुनै अनुसन्धान हुँदैन। बरु ती व्यक्ति त्यही संस्थामा पुन: नियुक्त हुन्छन्, कुनै प्रस्टीकरणबिना। विधिको शासन हुने कुन मुलुकमा यस्तो हुँदो हो ? अन्यत्र थाहा छैन तर भर्खर गणतन्त्रको अभ्यास गररिहेको नेपालमा यस्तै भएको देखियो। त्यो पनि गणतन्त्रकै अगुवाबाट।

समाज कल्याण परिषद्लाई भ्रष्टाचार व्याप्त भएको भन्दै ४ मंसिर ०६५ मा प्रचण्ड नेतृत्वको सरकारले विघटनको निर्णय गर्‍यो। उपाध्यक्ष दाताराम खनालसहित राजनीतिक नियुक्ति पाएका सबै पदाधिकारी बर्खास्तीमा परे। पछि उनले कुनै निकायमा जवाफ दिनुपरेन। बरु 'ससम्मान' त्यही ठाउँमा पुन: नियुक्ति पाए, जो अद्यापि कार्यरत छन्। सायद खनाल ठूला नेताका आफन्त हुन्थेनन् भने अहिलेसम्म उनको ठाउँमा तीनपटक नयाँ व्यक्ति आइसक्थे। संयोग कस्तो परेको थियो भने बुटवलका एमाले कार्यकर्ता मारिएको विरोधमा मुलुकभर एमाले माओवादीविरुद्ध आन्दोलित थियो। त्यो आन्दोलन फिर्ता गर्ने सम्झौतामा तत्कालीन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गर्नासाथै दातारामको पुन:नियुक्ति भएको थियो। दाताराम झलनाथका भाइ हुन्। के ठूला नेताको आफन्त भएपछि यस्तै हुन्छ ?

http://www.ekantipur.com/nepal/article/?id=2724

No comments:

Post a Comment