Sunday, October 4, 2015

३५ वर्षपछि पुस्तकालयलाई पुन:जीवन


संविधानसभाबाट संविधान जारी भएको उल्लासले राजधानी भरिएका बेला सृजना इन्टरनेस्नल पब्लिकेसनले बेग्लै कार्यक्रम गर्‍यो । ४ असोजमा पब्लिकेसनले मार्तडी, बाजुरास्थित मालिका उच्च माविको वसन्त पुस्तकालयलाई ३ सय पुस्तक सहयोग गर्‍यो । प्रवन्ध निर्देशक हेमसागर नेपालले उच्च माविका प्राचार्य शुभराज उपाध्यायलाई पुस्तक हस्तान्तरण गर्दै भने, “दीगो शान्ति र समृद्धिको आधार एकता र सहकार्य हो । अँध्यारोमा रहेको भूगोल र समुदायलाई प्रकाशमा ल्याउनु हरेक नेपालीको कर्तव्य हो ।”

यही कर्तव्य सम्झेर गरिएको सहयोगको यो सुरुआत मात्र भएको उनको भनाई थियो । त्यही उच्च माविमा ३५ वर्षअघि स्वयंसेवा गरेका अर्थशास्त्री बद्री पोखरेलले आफैँले स्थापना गरेको वसन्त पुस्तकालयले पुन:जीवन पाएकोमा खुसी व्यक्त गर्दै पाँच लाख रुपियाँ सहयोग घोषणा गरे । हिन्दु विद्यापीठमा कार्यरत अमेरिकी नागरिक पेगी ग्रेगोरीले पछि परेको क्षेत्र र समुदायको शैक्षिक विकासका लागि स्वयंसेवी संस्कृतिलाई प्रोत्साहित गर्नुपर्ने बताइन् ।

कार्यक्रममा प्राचार्य शुभराज उपाध्यायले सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद दिँदै विद्यालयमा महिला छात्रावासको एकदमै जरुरी भएको बताएका थिए । स्कुलका छात्राहरुको सुरक्षा र शैक्षिक गुणस्तरका लागि छात्रावास बनाउन चाहेको उनको भनाइ थियो । पत्रकार दयाराम पण्डित, विद्यार्थी नेता नरेश रोकाया, फोटो पत्रकार बालकृष्ण थापा लगायतले बाजुराको शैक्षिक विकासका निम्ति युवा पुस्ताले हातमा हात मिलाएर जुट्नुपर्ने बताएका थिए ।

No comments:

Post a Comment