Wednesday, November 25, 2015

ओली र जोलीबीच के कुरा भयो ?


दसैँको टीका अर्थात् ५ कात्तिकका दिन भारतीय जनता पार्टीका नेता विजय जोली अनपेक्षित रूपमा काठमाडौँ भ्रमणमा आए । नवनिर्वाचित प्रधानमन्त्री केपी ओली, विद्या भण्डारी, नेपाली कांग्रेसका सभापति सुशील कोइरालालगायत केही नेताहरूसँग भेटघाट गरेर फर्किए ।

व्यक्तिगत रूपमा प्रधानमन्त्री ओलीसँग सुमधुर सम्बन्ध रहेका जोलीसँगको भेटवार्ताको पूर्ण विवरण सार्वजनिक भएको छैन । तर, के स्पष्ट छ भने राष्ट्रिय राजनीति राष्ट्रपति निर्वाचनको तयारीले तातिरहेका बेला आएका जोलीले ओलीलाई बधाई मात्र दिएर फर्किएका छैनन् । उनले नेपालको राजनीतिक भेटघाटपछि दिल्ली गएर आफ्नो पार्टी र सरकारलाई प्रभावित पार्न केकस्तो प्रयास गरे वा गरेनन् भन्ने पनि स्पष्ट छैन । यद्यपि, उत्तर प्रदेश र विहार प्रदेशमा स्थानीय तथा विधान सभाका निर्वाचनको सिलसिलाले नेपाल मामिला उनीहरूको प्राथमिकतामा कति परेको छ भन्ने पनि बेग्लै विषय छ ।

तैपनि, सत्तारूढ दल भाजपाका वरिष्ठ नेताको यो भ्रमणले द्विपक्षीय विचारको आदानप्रदान अवश्य भएको छ । कूटनीतिक मामिलामा जानकारी राख्ने सत्तारूढ दलका एक एमाले नेता भन्छन्, “परिणाम आउन ढिला होला । तर, संवादहीनता र गलत सूचना प्रवाहको अन्त्य गर्दै नेपालको यथार्थ विवरण जोलीले बीजेपी र मोदीलाई गर्नेछन् ।” 

यता राष्ट्रपतिका रूपमा विद्या भण्डारी निर्वाचित भइसकेपछि शपथको भाषा र व्यहोरा केही अनपेक्षित रह्यो । आफूले देश र जनताका नाममा शपथ खाएका ओलीले राष्ट्रपति भण्डारीलाई भने ‘ईश्वरको नाममा’ शपथ ग्रहणको चाँजोपाँजो मिलाए । स्रोतअनुसार, यसबाट धर्मनिरपेक्षताका नाममा हिन्दू धर्मप्रति विशेष आग्रह नरहेको, सनातन धर्मको संरक्षण र संवद्र्धनको अवरोधक राज्य नहुने सन्देश दिन खोजिएको थियो । यसलाई ओली र जोली भेटको प्रभावका रूपमा व्याख्या गर्ने नेताहरूको पनि कमी छैन । यसअघि गत साउन दोस्रो साता ओलीकै निमन्त्रणामा जोली काठमाडौँ भ्रमणमा आएका थिए । त्यतिखेर जोलीले ओलीलाई ‘भारत र मोदीको महान् मित्र र शुभेच्छुक’ भनेर ट्वीट गरेका थिए । 

नेपाल प्रकाशित: कार्तिक २३, २०७२


No comments:

Post a Comment