Wednesday, November 25, 2015

डोट्याल मारवाडी

उनीहरूलाई आफू गरिब र पिछडिएको हुनुमा जति खेद छ, त्यसभन्दा बढी गर्वको अनुभूति हुन्छ, आफ्नो गाउँठाउँ डोटी हो भन्नुमा । वीरेन्द्र अग्रवाल भन्छन्, “पहाडको पानीको सम्झना हुन्छ । गाउँठाउँको माया लाग्छ । गाउँकै सेवा गर्ने इच्छा छ ।”
 
दीपायल, डोटीका अग्रवालहरू सामूहिक तस्बिर खिचाउँदै 
मोहन शाही/डोटी रामबहादुर रावल/काठमाडौँ 

नाकमा फुली, कानमा मुन्द्री र घाँटीमा तिलहरी झुन्ड्याएकी बाटु अग्रवाल, ५४, आम डोट्याली महिलाभन्दा कुनै हिसाबमा फरक छैनन् । उनी नेपाली भाषा अन्तर्गतको डोट्याली भाषिका बोल्छिन् । स्कुल पढेकी छैनन् । आफ्नो खेतबारीमा उब्जेको मानोमुठीले परिवारको जीविका चलाउँछिन् । दिपालय विमानस्थल जाने बाटाछेउमा ढुंगामाटाको गाह्रो, खरको छानो र परम्परागत शैलीमा बनेको पुरानो घर छ । नजिकैको बारी र आफ्ना बालबच्चातिर इंगित गर्दै उनी भन्छिन्, “अन्नगेडो यहीँबाट खानु पड्डो छ । यिनरा बाउबाज्या मारवाडी भन्ना छन्, हामीलाई थाहा नाइथिन् ।”

मारवाडी समुदाय भन्नेबित्तिकै सम्पन्न र धनाढ्यको विम्ब अगाडि आउँछ । आफ्नो समुदायको इतिहासबारे खासै थाहा नभएको र सानोतिनो खेतीपातीबाट जीविका चलाउनुपरेको बाटुको भनाइबाट स्पष्ट हुन्छ, नेपालको अर्थतन्त्रमा मजबुत पकड रहेको र राजनीतिलाई पनि प्रभावित पार्न सक्ने सहरी मारवाडी समुदायभन्दा निकै भिन्न रूपमा बाँचेको छ, दिपायलको यो अग्रवाल बस्ती । यहाँका बासिन्दाको रहनसहन, खानपिन, बोलीभाषा र जीवनशैली हेर्ने हो भने कसैले पनि मारवाडी भनेर पत्याउने अवस्था छैन । उनीहरू पनि आफूलाई मारवाडीभन्दा डोटेलीका रूपमा परिचित गराउन रुचाउँछन् । बस्तीमा भेटिएका युवक खडक अग्रवाल भन्छन्, “हाम्रा बाजेबज्यैले आफ्ना पितापुर्खा कहाँबाट आएको, कसरी आएको, कुन समुदायको भन्ने बुझ्नु नै भएको छैन । भर्खरै मारवाडी सेवा समितिले सोधीखोजी गरेपछि मात्र हामीलाई केही जानकारी भयो ।” 

कसरी पुगे डोटी ?
डोटीका अग्रवाल समुदायका पुराना पुर्ख्यौंली घर
मारवाडीहरूको आदिथलो भारतको राजस्थानस् स्थित मारवाड भन्ने ठाउँमा मानिन्छ । हाल राजस्थानकै जोधपुरलाई मारवाडी संस्कृतिको केन्द्र मानिन्छ । भारतमा मुगल शासकहरूले आक्रमण गरेपछि चित्तौडगढ, नयाँ दिल्ली हुँदै पहाडतिर पलायन हुनेहरूमध्ये पाल र अग्रवाल पनि थिए ।

आफ्नो परिवारको इतिहास खोजबिन गरेका वीरेन्द्र अग्रवालका अनुसार राजस्थान, अजमेर प्रान्तका एक पाल खानदानका निरथपाल तत्कालीन युद्धको भार खेप्न नसकी नेपालको सुन्दर र शान्त प्रदेशमा गई शान्तिपूर्वक जीवनयापन गर्ने उद्देश्यले आफूसँग एक जना अग्रवाललाई लिएर हिँडे । ती अग्रवाल मिठाईका परिकार बनाउन खप्पिस थिए । महाकाली हुँदै नेपाल पसेका उनीहरू पहिला डडेलधुराको रमणीय प्राकृतिक वातावरणबाट लोभिए र त्यहीँ बसे । पाल डोटी राज्यको अजयमेरूकोटका शासक भए । पछि त्यही ठाउँलाई अजयमेरूकोट भनियो ।
दीपायलको पिपल्ला बजार (वारि) र अग्रवालहरूको बस्ती (पारि), बीचमा सेती नदी । 
जाडोमा हिउँले सताउने र गर्मीमा सुक्खा पर्ने भएकाले अजयमेरूकोटबाट करिब ८० किलोमिटर टाढा पर्ने सेती नदीको फाँट, दिपायल, डोटीमा आयो, पाल राजाको दलबल । राजासँगै मिठाई कालीगढ अग्रवाल पनि दिपायल पुगे । “पाल राजाले आफूसँग ल्याएका अग्रवाल हाल दिपायल–सिलगढी सेरोफेरोमा बस् ने पहाडी अग्रवालहरूका पुर्खा थिए, जसको नाम हरि अग्रवाल थियो,” हाल नेपालगन्ज, बाँकेमा केएल दुगड ग्रुपमा कार्यरत वीरेन्द्र भन्छन्, “हाम्रो परिवारमा पछिसम्म पनि मिठाई बनाउने र बेच्ने चलन थियो । अहिले पनि मिठाई बनाउने पुराना भाँडाकुडा भेटिन्छन् ।”
अग्रवाल समुदायकी सबैभन्दा ज्येष्ठ सदस्य माता अग्रवाल, ८५
पछि त्यही परिवारका भैरव अग्रवाल व्यापार गर्ने क्रममा सिलगढी बसे । उनको विवाह राजाले डोटीकै क्षत्री समुदायसँग गराइदिए । भैरवको एउटा विवाह अछामका स्वाँर थरकी युवतीसँग भयो भने अर्को विवाह दिपायल, तिखाकी खड्का थरकी युवतीसँग । भैरवको मृत्युपछि दुवै श्रीमती र सन्तानका लागि राजाले नै दिपायलमा जग्गा उपलब्ध गराई बस्ती बसालेको अग्रवाल परिवारको भनाइ छ । ती दुई श्रीमतीबाट जन्मिएका आठ परिवारका करिब ६५ सन्तान अहिले डोटीमा छन् । स्वाँर थरकी श्रीमतीतर्फको एक परिवार सिलगढी, मार्तडी, बाजुरा हुँदै कीर्तिपुर, काठमाडौँमा बसाइँ सरेको छ ।

विकास र अवसरमा पछाडि

खड्काबाट जन्मिएका सात परिवार दिपायल र कुमालीकोटमा छन् । उनीहरू क्षेत्री समुदायसँग बिहेबारी गर्छन् । खड्का, बोगटी, कठायतसँग बढी घुलमिल छ । शिक्षा र आर्थिक अवस्था निकै कमजोर छ । मुख्य पेसा कृषि भए पनि पर्याप्त जग्गाजमिन नभएका कारण धेरैजसो अरूका जग्गामा काम गरेर जीविका चलाउँछन् । नेपाल प्रहरीका सहायक निरीक्षक नवराज अग्रवाल सबैभन्दा उपल्लो दर्जाका सरकारी कार्मचारी हुन् । 
त्यसबाहेक सरकारी सेवाका नाममा नेपाली सेनाका सिपाही र निजामतीमा श्रेणीविहीन पदभन्दा माथि कोही पनि पुग्न नसकेको वीरेन्द्र अग्रवालको भनाइ छ । केही वर्षअघिसम्म यहाँका युवाहरू रोजगारीका सिलसिलामा भारतका विभिन्न सहरमा मजदुरी गर्न पुग्थे । पछिल्ला वर्षमा केही युवा वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक पुगेका छन् । प्रभावशाली राजनीतिक पदमा पनि यो समुदायबाट कोही पुग्न सकेको छैन । दिपायलकै मेखराज अग्रवाल भन्छन्, “हाम्रो अवस्था नाजुक भए पनि राज्यका तर्फबाट कुनै सहुलियत वा आरक्षण छैन । हामी न दलित, न जनजाति भयौँ ।” 
केएल दुगड ग्रुपमा कार्यरत वीरेन्द्र अग्रवाल
नेपालमा मारवाडी जनसंख्या ५१ हजार ४ सय ४३ रहेको पछिल्लो जनगणना प्रतिवेदनमा छ । त्यसमध्ये करिब तीन चौथाइ सहरमा, त्यसमा पनि तराई क्षेत्रमा बसोवास बढी छ । भारतमा मारवाडी समुदायले बोल्ने भाषाका २३ वटा भाषिका छन् । नेपालका सहरी मारवाडीको पनि आफ्नै मातृभाषा छ । तर, गर्गगोत्री डोटेली अग्रवालहरूको मातृभाषा डोटेली नै बन्न पुगेको छ र उनीहरू सबै हिन्दुधर्म मान्छन् । भैरवलाई इष्टदेवताका रूपमा पुज्छन् ।
सिलगढीबाट काठमाडौँ
सिलगडी, मार्तडी हुँदै कीर्तिपुर पुगेको अग्रवाल परिवार
दिपालयको त्यही अग्रवाल बस्तीबाट सिलगढी, मार्तडी, बाजुरा हुँदै काठमाडौँ पुगेको परिवारकी ज्येष्ठ सदस्य सरस्वती अग्रवाल, ५५, कीर्तिपुरमा बस्छिन् । जेठा छोरा वैदेशिक रोजगारीमा छन् । एउटा घर पनि बनाएकी छन् । तर, उनको विगत अग्रवाल परिवारका अरू सदस्यभन्दा निकै पीडादायी छ ।
सिलगढीबाट करिब २२ वर्षअघि चार छोराछोरीलाई काखी च्यापी मार्तडी, बाजुरा पुगेकी थिइन् । बोराले बारेर खाना र नास्ताको पसल थापिन् । चारै सन्तानलाई स्थानीय विद्यालयमा भर्ना गरिन् । उनले परिवारको जीविका र सन्तानको पढाइ खर्च एकल रुपमा बेहोर्थिन् । छोराछोरी क्याम्पस पढ्ने भएपछि उनले परिवारै बोकेर काठमाडौँमा व्यवसाय थालिन् । कीर्तिपुरमा किराना पसलदेखि खाजा पसलसम्म गरिन् उनले । दुई बुहारी र नाति–नातिनाहरू खेलाएर दिन बिताइरहेकी उनी भन्छिन्, “पुराना दु:खको त के कुरा गर्नु ? तर, अहिले छोराछोरी ठूला भए । सबै कमाउने भए । मलाई ठीकै छ ।” उनका स्नातक पढेका कान्छा छोरा गणेश होटेल र्‍याडिसनमा काम गर्छन् । डोटेली अग्रवाल परिवारमा दुई जना मात्र स्नातकोत्तर छन्, रतन र देवबहादुर जो क्रमश: सिद्धार्थ बैंक र हिमालयन बैंकमा कार्यरत छन् ।
फोब्र्स पत्रिकाको विश्वका अर्बपति सूचीमा दुई प्रतिशत मारवाडी छन् । नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने एक मात्र अर्बपति विनोद चौधरीसमेत मारवाडी समुदायकै हुन् । मानव विकास सूचकांक र समृद्धिको सूचकमा सबैभन्दा अग्रपंक्तिमा मारवाडी समुदाय नै पर्छ । तर, डोटेली मारवाडी नेपालकै गरिब र अविकशित मानिने सुदूरपश्चिमका पहाडी जिल्लाका अरू बासिन्दाभन्दा फरक छैनन् ।
उनीहरूलाई आफू गरिब र पिछडिएको समुदायको सदस्य हुनुमा जति खेद छ, त्यसभन्दा बढी गर्वको अनुभूति हुन्छ, आफ्नो गाउँठाउँ डोटी हो भन्नुमा । वीरेन्द्र अग्रवाल भन्छन्, “बाध्यताले नेपालगन्ज बसिएको छ । तर, अझै पनि पहाडको पानीको सम्झना हुन्छ । आफ्नो गाउँठाउँको माया लाग्छ । गाउँमै गएर बस्ने र गाउँकै सेवा गर्ने इच्छा छ ।” 
नेपालप्रकाशित: कार्तिक ३०, २०७२


No comments:

Post a Comment