Saturday, October 4, 2025

मानवः शक्ति र बुद्धि



हामीले हाम्रा प्रजातिलाई होमो सेपियन्स अर्थात् ज्ञानी मानव भनेर नाम दिएका छौं । तर यस नामका लागि हामी साँच्चै योग्य छौं त ? यो प्रश्न विवादास्पद छ ।

पछिल्ला एक लाख वर्षमा मानवले निःसन्देह विशाल शक्ति हासिल गरेको छ । हाम्रो खोज, आविष्कार र विजयहरूको सूची बनाउने हो भने त्यसले धेरै पुस्तकहरू भरिनेछन् ।

तर शक्ति र बुद्धि (विवेक) एउटै कुरा होइनन् ।

यी एक लाख वर्षका खोज, आविष्कार र विजयहरूपछि पनि मानवता आज अस्तित्वकै संकटमा छ । हामी आफ्नै शक्तिको दुरुपयोगका कारण पारिस्थितिकीय पतनको सिमानामा पुगेका छौं । हामी कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिहरू विकास गर्न व्यस्त छौं, जसले हाम्रो नियन्त्रणबाट बाहिर गएर हामीलाई नै दास बनाउने वा नष्ट गर्ने सम्भावना बोकेको छ ।

हाम्रो प्रजातिले यी गम्भीर संकटहरूसँग एकजुट भएर सामना गर्नुपर्नेमा उल्टै अन्तर्राष्ट्रिय तनावहरू बढ्दै गएका छन् । वैश्विक सहकार्य कमजोर हुँदै गएको छ । राष्ट्रहरूले अझै पनि नयाँ परमाणु हतियार सञ्चित गरिरहेका छन् र अर्को विश्वयुद्ध असम्भवजस्तो देखिँदैन ।

यदि हामी साँच्चै ज्ञानी मानव हौँ भने,

हामी किन यति आत्मविनाशक छौं त?

हामीसँग डीएनए अणुदेखि लिएर आकाशगंगासम्मको अद्भुत ज्ञान छ तर यसले जीवनका यी मूल प्रश्नहरूको उत्तर दिएको छैन–

हामी को हौँ? हामी किन छौं? राम्रो जीवन के हो र हामी कसरी बाँच्नुपर्छ?

आज पनि, विशाल जानकारीको युगमा बाँच्दाबाँच्दै, हामी हाम्रा प्राचीन पुर्खाहरूझैँ कल्पना र भ्रान्तिमा सजिलै फस्छौं।

Thursday, October 31, 2024

मोहनमान सैँजूको बुधबारेदेखि चाकुपाटसम्मको यात्रा

 

Friday, October 6, 2023

अतिशय घटनाहरूको वृद्धि र संकटापन्नताः युवा र सञ्चारकर्मीले के गर्ने ?

हुन त ब्रम्हाण्डका कुनै पनि कुरा स्थिर छैनन् भन्ने मानिन्छ । हामी बसिरहेको ठाउँ नेपालमा पनि कुनै समय टेथिस सागर थियो भनिन्छ । अहिले संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथासहितको हिमालय पर्वत शृंखला यहीँ उभिइरहेको छ र हामी त्यसैमा गर्व गरिरहेका छौं । अनि भूपरिवेष्ठित मुलुकका रुपमा समुद्रसम्मको पहुँचका लागि जुधिरहेका छौं ।

प्रकृतिमा यस्ता कैयन् कुरा छन्, जुन परिवर्तन भइरहन्छन् । वर्षभरि आउने ऋतुहरूको एउटा चक्र छ । त्यही चक्रले हाम्रा दैनिकी र व्यवहारलाई निर्देशित गरिरहेको हुन्छ। हामी नेपाली त झन् आकासे पानीको भरमा खेती गर्छौं । कम पानी पर्दा खेती बिथोलिन्छ । बढी पानी पर्दा बाढी र पहिरोले घरवाससँगै खेती पनि डुबाइदिन्छ, बगाइदिन्छ।

हुँदाहुँदा अब पानी नै नपरी सुख्खा पहिरोले सताउन थालेको छ । सिन्धुपाल्चोकको जुरे यसैको उदाहरण हो ।

हिउँ जमेका तालहरु अकस्मात् फुट्न थालेका छन् । कास्कीको पोखरामा आएको सेती नदीको बाढी यसको चेतावनी घन्टी मात्र हो भनेर विज्ञहरुले भनिरहेका छन् । मेलम्चीमा आएको बाढीलाई पनि पर्यावरणविद्हरुले सामान्यरुपमा लिएका छैनन् ।

यस्ता अनगिन्ती घटना छन्, जसले प्रकृतिमा उथलपुथल देखाइरहेको छ । धेरै अस्वाभाविक घटनाहरू विपत्ति बनेर आइरहेका छन् । 

यी अस्वाभाविक घटनाहरुमा कतिपय अवस्थामा हाम्रै व्यवहारहरु जिम्मेवार छन् भने कतिपय अवस्थामा नखाएको विषय लागिरहेको छ ।   

नेपाल हिमाली मुलुक भएकाले यहाँ जलवायुमा अस्वाभाविक परिवर्तनको असर तीव्ररुपमा परेको विभिन्न अध्ययनले देखाएको छ । 

हिमाली क्षेत्रमा हुने वर्षाको स्वरूप र चरित्रमा जलवायु परिवर्तनको गम्भीर असर मापन भएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार सामन्यतः थोरैथोरै सिमसिम पानी र बढी हिउँ पर्ने उच्च हिमाली तथा हिमालपारिका मुस्ताङ–मनाङ क्षेत्रमा हिजोआज ठूलाठूला थोपाको घना पानी पर्न थालेको छ ।

Friday, July 21, 2023

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले किन दियो परमादेश ?

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा घोटाला प्रकरणमा भाटभटेनी सञ्चालक गुरुङसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई बाटो खुला गरिदिएको छ । यस्तै यस प्रकरणमा जोडिएका १७ जना आरोपीलाई पक्राउ गर्न रोक्ने न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गत वर्ष जारी गरेको आदेश पनि खारेज गरिदिएको छ । उक्त आदेश खारेज भएपछि पक्राउ परेलगत्तै छुटेका मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन कर्मचारी कलाधर देउजा फेरि पक्राउ परेका छन् । अब ती १७ जनालाई पनि पक्राउ गरी अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन बाटो खुलेको छ । 

यही प्रकरणमा पक्राउ परेका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतलाई भने विदेश जान नपाउने गरी रिहा गर्न सर्वोच्चले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासले अनुसन्धान चाँडो सक्न सीआईबीलाई परमादेशसमेत जारी गरेको छ । 

आज सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन र यसअघि सर्वोच्च अदालतबाट जारी भएको आदेशका सन्दर्भमा नयाँ आदेश जारी गरेको छ । बन्दीहरुमध्ये कसलाई रिहा गर्ने र कसलाई थुनेरै अनुसन्धान अघि बढाउने आदेशसँगै सीआईबीका नाममा थप परमादेश पनि जारी गरेको छ । यसको अर्थ र सन्देश के हुन सक्छ ? 

ग्यालेक्सी फोरकेका सम्पादक रामबहादुर रावलको ब्रिफिङ । 

Sunday, August 21, 2022

प्रदीप गिरिका तीन रूप

 नोटबुक

  • रामबहादुर रावल


प्रदीप गिरि-१ 

आमनेपालीले जस्तै म पनि प्रदीप गिरीलाई एक गम्भीर चिन्तकका रूपमा चिन्छ । पहिलोपल्ट भेट्दा उनी मेरो परिकल्पनाभन्दा धेरै फरक थिएनन् । ०६६ चैतको दोस्रो साता। गिरिजाप्रसाद कोइरालाको निधनको केही दिनपछि गिरिलाई काठमाडौंको भीमसेनगोलास्थित घरमा भेटेको थिएँ । पुरानो र बेवारिसेजस्तै लाग्ने त्यस सानो घरभित्र उनी कुर्तापाइजामामा थिए । मैलो नभए पनि खासै सुकिलो थिएन पहिरन । छुस्स दारी । फाटेका र मयल टलक्क टल्किएका सोफा । कतै कार्पेट देखिन्थ्यो त कतै सिमेन्टको कालो र खस्रो भुईं ।

यो पनि हेर्नुहोस्-

 प्रदीप गिरिको त्यो रेकर्डर

त्यसपछि पनि केही समय त्यही घरमा भेटें उनलाई । उनका सहयोगी आज एउटा, भोलि अर्को हुन्थे । समयको ठेगान नहुने । उनलाई भेट्न पुग्नेहरू घन्टौं कुरिरहेका हुन्थे । कोही त बिहानै गएर उनलाई ढुक्थे, साँझ नभेटीकन फर्किन्थे र भोलिपल्ट त्यही सिलसिला दोहोऱ्याउँथे । मैले पनि उनलाई निर्धारित समयमा मुस्किलले भेटेको छु ।

Friday, August 19, 2022

नेपालमा नागरिकताको इतिहास कस्तो छ ?

काठमाडौँ । विसं १९१० को मुलुकी ऐन, पृथ्वीनारायण शाहको दिव्योपदेश, राणाकालीन सनद सवालहरूमा नेपाली नागरिक र गैर नेपाली नागरिकको विभेदबारे उल्लेख छ । सो भन्दा पहिला नेपाली नागरिक र गैर नेपाली नागरिक छुट्याउन सकिने स्पष्ट आधार भेटिँदैन ।

नेपाल सरकार वैधानिक कानून २००४ र नेपालको अन्तरिम शासन विधान, २००७ मा नेपाली नागरिकताको प्रमाणपत्रको सम्बन्धमा स्पष्ट व्यवस्था नभएपनि नागरिकको निमित्त एकै किसिमको देवानी ऐन जारी गर्ने व्यवस्थालाई हेर्दा नागरिक र गैर नागरिक छुट्टिएको देखिन्छ ।

 यो पनि हेर्नुहोस् ः  नागरिकता प्रकरण — सधैँको किचलो

नेपालमा नागरिकताको नीतिगत थालनी वि.सं. २००९/०१/२६ बाट लागू भएको नेपाल नागरिकता ऐन, २००९ बाट भएको देखिन्छ ।

Friday, February 18, 2022

एमसीसी प्रकरणले देखाएका सम्भावित ३ परिदृश्य

 काठमाडौँ । अमेरिकाको बढ्दो दबाब र घरेलु राजनीतिक शक्तिहरूबीच चलेका केही भित्री संवाद एवं सम्झौताले एमसीसी संसदीय प्रक्रियामा प्रवेश गर्ने झीनो आधार तयार भएको छ । तर अहिलेसम्म विकसित घटनाक्रम र राजनीतिक नेतृत्वको मुड हेर्दा अमेरिकासँगको यो सम्झौता संसदीय प्रक्रियाबाट सोचिएजस्तो गरी सहज रुपमा निष्कर्षमा पुग्न भने कठिन छ । अबका सम्भावित परिदृश्य के देखिन्छन् त ? ग्यालेक्सी समाचार संयोजक रामबहादुर रावलको यो विश्लेषण हेरौँ ।




Thursday, October 29, 2020

कालापानीमा चीनतर्फ लक्षित भारतीय सैन्य तयारी

सेना, ब्यारेक र बंगर कहाँ कति ?

  • रामबहादुर रावल 

नेपाली भूमि लिपुलेकलाई मानसरोवरसम्मको तीर्थयात्रा र दुई देशीय व्यापारका लागि प्रयोग गर्ने भन्दै भारतले चीनसँग दुईपटक सम्झौता गरिसकेको छ । तर, उसले अतिक्रमण गरेर कालापानी र लिपुलेक क्षेत्रमा जुन प्रकारको फौजी तयारी गरिरहेको छ, त्यसले व्यापार र धार्मिक प्रयोजन मात्र हो भन्ने देखाउँदैन । असामान्य तवरले सुरक्षा फौज तैनाथ गरी भारतले कालापानी क्षेत्रमा भौतिक संरचना समेत विस्तार गरिरहेको छ । हेरौँ,  सुरक्षा संयन्त्रले हालै सरकारलाई बुझाएको एक प्रतिवेदन समेतलाई आधार मानी तयार पारिएको यो रिपोर्ट ।



Sunday, February 23, 2020

Investigation Commission Inspects Bhairavnath Battalion


Kathmandu, 23 Feb 2020

On the basis of the complaints filed in relation of the disappeared persons, the Commission on Disappeared Persons conducted field inspection of Bhairavnath Battalion and Shivapuri area of Nepali Army on Falgun 11, 2076 (February 23, 2020).  

Also inspecting the various places of Bhairavnath Battalion where the detainees were supposed to detain during the armed struggle (from 1st Falgun, 2052 BS to Mangshir 2063 BS), Shivapuri areas which were also related for detaining the detainee. The inspection team was comprised by the Chairman of the Commission Mr Yubaraj Subedi and members Mr Bishwo Prakash Bhandari, Dr Gangadhar Adhikari, Mr. Sunil Ranjan Singh, M/s Sarita Thapa and Secretary of the Commission, Mr. Krishnajiwi Ghimire during inspection.    

Wednesday, February 5, 2020

बालुवाटार जग्गा प्रकरण : १० रोचक तथ्य

१-फौजदारी कसुरमा मिलापत्र गर्न मिल्ने नयाँ नजिर अख्तियारले प्रतिपादन गरेको   बालुवाटारको जग्गा फिर्ताको सर्तमा विष्णु पौडेल सर्वोच्चका न्यायाधीश न्यायाधीश कुमार रेग्मीलाई उन्मुक्तिअरूलाई मुद्दा 

२- अर्को रोचक तथ्य 
यसअघि पनि पटकपटक बालुवाटार जग्गा घोटाला प्रकरणमा उजुरी परेका   २०६०//१८ (सूर्यनाथ उपाध्याय)का पालामा मुद्दानचलाउने निर्णय गरिएको रहेछ  तत्कालीन अनुसन्धान अधिकृत को थियो  कस्तो राय पेस गरेको थियो भन्ने जिज्ञासाको विषय बनेको 

३-बालुवाटारको जग्गा खाने भाटभटेनी साहु मीन  गुरुङमाथि  मुद्दा  दुवैमा गरी ५१ करोडभन्दा बढीको बिगो  
द्रष्टव्ययसअघि उनले नक्कली #भ्याट बिल छापेर जनताबाट उठाएको रकम आफ्नै खल्तीमा हालेको तल्ला अदालतको फैसलासर्वोच्चबाट सदर भएको थियो 

Friday, November 8, 2019

कालापानी अतिक्रमण कसरी गरियो ? प्रमाणले के भन्छ ?



बेलाबेला बल्झिरहने कालापानीको घाउ यसपटक भारतले नया राजनीतिक नक्सा सार्वजनिक गरेर फेरि बल्झाइदिएको छ । र, दशकौँदेखि आफूले ओगटिरहेको भूमि नेपालको हुन नसक्ने तर्क भारतीय अधिकारीहरुले गरिरहेका छन् । खासमा के हो कालापानी अतिक्रमण ? यसै विषयमा अनुसन्धान गरी पुस्तक समेत लेखेका अन्वेषक रतन भण्डारी यसरी व्याख्या गर्छन् ।

Sunday, October 13, 2019

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अर्थ र सन्देश [विश्लेषण]


चिनियाँ राष्ट्रपति सी चिनफिङको बहुप्रतीक्षित नेपाल भ्रमण अहिले यस्तो समयमा भएको छ, जतिखेर मुलुकमा नेकपाको झण्डै दुई तिहाई बहुमतको सरकार छ। आफ्नो देशको संवेदनशील भूभाग तिब्बतका कारण पनि चीन नेपालमा शान्ति, राजनीतिक स्थायित्व र त्यसका लागि- एउटा बलियो सरकार चाहन्थ्यो । विगतमा मौन कूटनीति अँगाल्ने चीन यतिखेर विश्वको ठूलो भूभागलाई समेट्ने महत्वाकांक्षी कार्यक्रमका साथ विश्वकै अगुवाइ गर्ने यात्रामा निस्किएको छ । दक्षिण एसियामा समेत जसरी भुटानबाहेकका सबैजसो देशमा उसको प्रभाव र उपस्थिति छ, त्यसले बेइजिङ एउटा उपेक्षा गर्नै नसकिने शक्तिका रुपमा स्थापित गरेको छ। रामबहादुर रावलको विश्लेषण:





Wednesday, August 15, 2018

‘व्यापार घाटा डब्लुटीओले गराएको होइन’



कुनै समय स्कुले खर्च जोहो गर्न स्याङ्जाको मालुंगामा बसका यात्रुलाई डालामा फलफूल बेच्ने ठाकुर पराजुली आज विश्व व्यापार संगठन (डब्लुटीओ) मुख्यालयमा छन् । खुला प्रतियोगिताबाट डब्लुटीओ मुख्यालयमा अधिकृत बन्ने उनी पहिलो नेपाली हुन् । जे ने भा मूख्यालयमा गत वर्ष साउनमा भेट्दा खासै नखुले पनि यसपालि काठमाडौंमा भने उनले थुप्रै कुरा गरे । नेपालको व्यापार नीति समीक्षा सिलसिलामा डब्लुटीओको तर्फबाट आएको प्रतिनिधिमण्डलका एक सदस्य पराजुलीसँग रामबहादुर रावलका प्रश्न :

ग्रामीण बस्तीबाट डब्लुटीओ मुख्यालयसम्मको यात्रा कसरी ? 


स्कुले जीवन संघर्षपूर्ण रह्यो । सानैमा बुबा गुमाउनुपर्‍यो । आफैँ खर्च जुटाउँदै मालुंगा, स्याङ्जाबाट एसएलसी गरेँ । पुतलीसडकका इन्स्टिच्युटमा पढाउँदै कलेज खर्च जुटाएँ । वाणिज्यशास्त्रमा स्नातक गरेपछि वाणिज्य मन्त्रालयमा जागिरे भएँ । कोरियाको क्युङ ही युनिभर्सिटीमा छात्रवृत्तिमा अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध र विकास अर्थशास्त्रमा स्नातकोत्तर गर्ने मौका पाएँ । त्यहाँ प्राय: विद्यार्थीको सपना विश्व व्यापार संगठनको मुख्यालय पुग्ने हुन्थ्यो । प्रोफेसर तेहान यू भन्थे, ‘मेरा हरेक विद्यार्थीले अन्तर्राष्ट्रिय टेबलमा वार्ता गरेको देख्न चाहन्छु ।’ नभन्दै सन् २०११ मा खुला प्रतियोगिताबाट तथ्यांकशास्त्रीको रूपमा डब्लुटीओले मलाई चयन गर्‍यो ।

तारबारभित्रको दैनिकी



खैरापुर बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रभित्रबाट घाँस संकलन गरेर फर्कंदै स्थानीय । लोपोन्मुख कृष्णसारका लागि बनाइएको संरक्षण क्षेत्रका रैथाने बासिन्दा भने धेरै अप्ठेरोमा परेका छन् । १ सय ४२ घरधुरी संरक्षण क्षेत्रभित्रै पर्ने भएकाले उनीहरु तारबारभित्र बन्दीजस्तै बस्नुपरेको छ । ०२८ देखि बसोबास गरिरहेका भए पनि जग्गाधनी प्रमाणपुर्जा पाएका छैनन् ।

घर, बाटोघाटो र ढल बनाउन पनि संरक्षण क्षेत्रकै कारण रोकिएको छ । कृष्णसार संरक्षण हुने र आफ्नो पनि दैनिक जीवन सहज हुने विकल्पको माग स्थानीयले गरिरहेका छन् । आफ्ना वस्तुभाउलाई आवश्यक घाँसपात पनि चाहेको समयमा संकलन गर्न पाउँदैनन् ।

Wednesday, April 4, 2018

[नोटबुक] पाँच खलपात्र

शाही शासनकालमा न्युज रुममै जर्नेलहरु आएर बस्थे । पत्रकारिता जीवनमा त्यो सबैभन्दा अप्रिय क्षण थियो । तर, गणतन्त्रमा पनि केही यस्ता पात्र उपल्लो तहमा पुगे, जसलाई झेल्नुपर्दाका अनुभव तीता तर रोमाञ्चक छन् ।
सुवास निरौला : नेपाल पर्यटन बोर्डका धेरै जना निर्देशकमध्ये एक थिए, सुवास निरौला । तर, उनी आफैँलाई प्रमुख कार्यकारी ठान्थे । टेकबहादुर डाँगीदेखि प्रचण्डमान श्रेष्ठ प्रमुख हुँदा निरौलाकै हालीमुहाली चल्थ्यो । नचल्दा नेतृत्वलाई असफल बनाउने खेल खेल्थे । नेतृत्व खाली हुँदा उनी नपाएको पगरी आफैँ बोकेर ‘मै हुँ कार्यकारी’ भन्दै डाडुपन्यू कब्जा गर्थे । बोर्डका सदस्यलाई समेत उनी हातैमा नचाउँथे । मन्त्री, सचिवदेखि सबै खालको शक्ति सन्तुलनमा राख्ने कला उनमा थियो । बोर्डको स्रोत–साधन निजीसरह प्रयोग गर्थे । त्यो हर्कतमा असहमति राख्ने कर्मचारी खेदिन्थे । महेन्द्र पुलिस क्लबसामु रहेको बोर्ड कार्यालयमा उनले गुरिल्ला (बाउन्सर) राखेर कब्जा जमाएका थिए । उनको अनुमतिबिना कोही भित्र पस्न सक्दैनथ्यो । तर, त्यो बाहुबली शासनको रिपोर्टिङका लागि भित्रको अवस्था अवलोकन गर्नैपथ्र्यो । एक दिन जसोतसो बहाना बनाएर गुरिल्लाका तह–तहका घेरा तोडेर भित्र छिरियो । त्यतिखेर भारतीय फिल्ममा देखिने भूमिगत गिरोहको नियन्त्रणमा पुगेजस्तो महसुस भइरहेको थियो । उनका अनियमितताको रिपोर्टिङ त्यसअघि नै गरिसकिएको थियो । हामी उनको कार्यकक्षमा पुग्नेबित्तिकै असामान्य व्यवहार देखाए । सुरुमा आक्रोश पोखे, क्रमश: फकाउन थाले र अन्तिममा आफू राष्ट्रवादी भएकाले दु:ख पाएको गुनासो पनि पोखे । हामीलाई भने उनले गुरिल्ला शैलीमा कब्जा गरेको बोर्डको रिपोर्टिङ गर्नु थियो । सहकर्मी रवि मानन्धरले क्यामेराको फ्ल्यास मिलाएजस्तो गरेर गुरिल्लाहरुको तस्बिर लिए । बोर्डबाट निस्केपछि ठूलै जोखिमबाट उम्किएजस्तो भयो ।

Wednesday, December 20, 2017

सम्भव छ आत्मनिर्भर अर्थतन्त्र ?


  • रामबहादुर रावल


के नेपालको आत्मनिर्भर अर्थतन्त्र सम्भव छ ? यसका बाधकहरू के के छन् ? हाम्रो ऐतिहासिक परिप्रेक्ष्य के छ ? यसमा भूराजनीतिक पक्षको भूमिका के हुन्छ ? हाम्रा हालसम्मका नीतिपत्र र नीति निर्माताहरूले कस्तो सोच राखेका रहेछन् ? यिनै प्रश्नको जवाफ तथ्य, तथ्यांक र हाम्रो वस्तुगत यथार्थका आधारमा पर्गेल्ने प्रयास हो, पोलिटिकल इकोनोमी अफ नेपाल ।
खास गरी यसमा विभिन्न क्षेत्रका प्राज्ञहरूले मुलुकको गार्हस्थ्य उत्पादन, विश्वव्यापीकरण, विदेशी सहायता, विप्रेषण र वैदेशिक रोजगारी, शासन प्रणाली र अविकासलगायत विविध पक्षका प्रभावहरूको मूल्यांकन र विवेचना गरेका छन् । आठवटा परिच्छेदमा विभक्त यस पुस्तकको पहिलो परिच्छेद परिचयमा केन्द्रित छ । दोस्रो परिच्छेदमा रामप्रसाद ज्ञवालीले सन् १९७५ (२०३१/३२) देखि २०१४ सम्मका सूक्ष्म अर्थशास्त्रीय तथ्यांकको संकलन र विश्लेषण गरी नेपालको अर्थ व्यवस्थाको चिरफार गरेका छन् ।

Tuesday, October 31, 2017

चुनाव चिह्न भाडामा

- रुन्चे राइँलो

यहाँ चुनाव चिह्न भाडामा पाइन्छ । समयमै दल दर्ता गर्न नसकेर चुनाव लड्न नपाएकाहरु, आफ्नो चुनाव चिह्नमा विश्वास नभएकाहरु जो जो हुनुहुन्छ, अब चिन्ता लिनुपर्दैन । आउनुहोस्, छिटो गर्नुहोस् । हाम्रो चुनाव चिह्न भाडामा उपलब्ध छ । 

सबै कानुनी प्रक्रिया पुगेको, उस्तै परे बैंक ग्यारेन्टी र बिमासमेतको व्यवस्था भएको चुनाव चिह्न हामीसँग छ । हाम्रो चिह्न आममतदाताबीच परिचित भएकाले विज्ञापनमा धेरै खर्च गर्नु पर्दैन ।

दसैँ, तिहार, छठ, नेपाल संवत्को नयाँ वर्षलगायत सम्पूर्ण चाडपर्वको अवसरमा हामीले चुनाव चिह्नसम्बन्धी विभिन्न स्किम सार्वजनिक गरेका छौँ ।

एउटा मात्र चुनाव लड्ने, दुईवटा चुनाव लड्ने, पाँच वर्ष, १० वर्ष, १५ वर्ष, २० वर्षदेखि ४० वर्षसम्म हाम्रो चुनाव चिह्न लिजमा उपलब्ध छ । 

Monday, October 9, 2017

स्कुलमा नोटबन्दी



- रुन्चे राइँलो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र एक हजारका नोट अवैध हुने घोषणा गरेपछि भारतीय नोट बजारमा तहल्का भयो । स्रोत खुल्न नसकेका करोडौँ नोटका खात रातारात कागजका खोस्टा साबित भए । नेपालमा कालो धनलाई कालो मलमा परिणत गर्नुपर्ने आवाज नउठेको होइन । तर, हाम्रा राजनीतिज्ञले कालो धनको विपक्षमा नीति ल्याउने कुरै थिएन, छैन ।

नेताहरुले यो नीति अनुसरण गर्न नसकेर के भो त ? एक जना निजी स्कुलका सञ्चालकको कानमा मोदी नीतिको कुरा पर्‍यो । उनी हतारहतार आफ्नो स्कुल गए । हरेक विद्यार्थीलाई आफ्ना नोट (कापी) देखाउन भने । हरेक नोटलाई अवैध घोषणा गरिदिए । र, अबदेखि आफ्नो स्कुलको लोगो, निश्चित रङ र आकार भएका नोट मात्र आफ्नो स्कुलमा वैध हुने घोषणा गरे ।

विद्यार्थी वाल्ल परे । एकाएक किन यस्तो नीति ?

वरिष्ठका बहुरूप



- रुन्चे राइँलो

वरिष्ठ अधिवक्ताको हुलमा २ सय ७२ जना नयाँ वरिष्ठ थपिएछन् । हामीले गौरव गर्नुपर्छ, यति धेरै वरिष्ठ भएको मुलुकका नागरिक हुन पाएकामा । अदालतको दैलो नदेखेको जुग बिते पनि, मुद्दाका पक्षहरुले पत्याउन छाडेपछि अर्कै पेसा रोजे पनि अदालतले एक से एक वरिष्ठहरुको हिसाबकिताब राखेको रहेछ । अदालतको अभिलेख पद्धतिलाई त झन् सय तोपको सलामी दिनुपर्ने भएछ ।

वास्तवमा वकिल भएपछि मुद्दाका पक्षहरुकै लागि वकालत गर्नैपर्छ भन्ने के छ र ? इजलास धाउनैपर्छ भन्ने पनि छैन । न्यायाधीशका निवास र च्याम्बर धाउनु पनि त वकालत नै हो नि, होइन र ? पार्टीको वकालत गर्नु पनि वकालत नै हो । नेताको वकालत गर्नु झन् नम्बरी वकालत हुने भइगयो । फेरि सबै दल, वर्ग, क्षेत्र, आवासीय, गैरआवासीय सबैलाई भाग पुर्‍याएर समावेशी बनाउनैपर्‍यो ।

सीईओको वर्गीकरण


- रुन्चे राइँलो

नेपाल राष्ट्र बैंकले व्यावसायिक बैंक तथा वित्तीय संस्थाहरुको वर्गीकरण गर्छ तर प्रमुख कार्यकारी अधिकृत (सीईओ)को गर्दैन । तसर्थ, यहाँ नेपालमा सर्वाधिक तलब खाने यो पदमा आसीन व्यक्तिहरुको वर्गीकरण तीन प्रकारले गर्ने धृष्टता रुन्चेले गरेको छ ।

सेलिब्रिटी सीईओ : क्यामरा देख्नै नहुने, फोटोका लागि पोज दिइहाल्ने । फेसबुकमा सेल्फी अपडेट गरिरहने । बैंकका आफ्नै कार्यक्रममा जान नभ्याए पनि सुन्दरी प्रतियोगिताको निर्णायक मण्डलमा पुगिहाल्ने । आफ्नो बैंक डुबे पनि अरुलाई कसरी सफल हुने भनेर करिअर काउन्सिलिङ र प्रवचन दिइरहने ।

टिचर सीईओ : बैंकको कर्मचारी होस् वा सञ्चालक देख्नै नहुने, लेक्चर दिइहाल्ने । अर्ती–उपदेशको त खानी नै । कामभन्दा गफमा बढी विश्वास गर्ने । आफूले के गरेँ भन्दा पनि अरुले के गर्नुपर्छ भन्नेमा पोख्त ।