Tuesday, February 14, 2012

अब जेएनयू



रामबहादुर रावल 

 "आज म जे छु, जेएनयूकै देन हो । जेएनयू संसारकै उत्कृष्ट विश्वविद्यालयमध्ये एक हो । आज पनि यसले आफ्नो क्रान्तिकारी छवि जोगाएर राखेको छ । यसको एलुम्नाई हुन पाएकामा मलाई गर्व छ ।" 

प्रधानमन्त्रीका रूपमा पहिलोपल्ट भारत भ्रमणमा गएका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले आफूले विद्यावारििध गरेको संस्था जवाहरलाल नेहरू विश्वविद्यालय -जेएनयू)मा आयोजित कार्यक्रममा दिएको अभिव्यक्ति हो यो । 

३२ वर्षअघि विद्यावारििध गर्न जेएनयू पुगेका थिए, भट्टराई । साम्यवादतिरको झुकाव र मार्क्सवादी दर्शनको अध्ययन पनि त्यहीँ पुगेर गहन बनेको थियो, उनको । त्यसैले उनले जेएनयूलाई नै 'क्रान्तिकारी'को उपमा दिए ।

समारोहमै भट्टराईको विद्यावारिधिकी शोधनिर्देशक प्राध्यापक अतिया हबिब किदवईले भनिन्, "मैले संसारको व्याख्या मार्क्सवादी र नवमार्क्सवादी पुस्तकमा पढेर पाएकी थिएँ । तिमीले पनि तिनै पुस्तक पढ्नुपर्छ भन्ने लाग्यो ।" 

किदवईको वक्तव्यलगत्तै दर्शकदीर्घाबाट 'इन्क्लाब जिन्दावाद, इन्क्लाब जिन्दावाद'को पर्रा छुट्यो । विश्वकै एक ठूलो अर्थतन्त्र बन्दै गरेको भारतका प्रमुख दुई टेलिभिजन च्यानलले यो दृश्य प्रत्यक्ष प्रसारण गररिहेका थिए । 

प्रा किदवईले भनेझैँ, संसारको कुनै पनि शिक्षक र शिक्षण संस्थालाई आफ्नो विद्यार्थी प्रधानमन्त्रीका रूपमा पाउँदा सर्वाधिक गौरवको विषय त हुने नै भयो । त्यसमाथि भट्टराईले देशव्यापी सशस्त्र संघर्षको नेतृत्व दिएका थिए । अझ उल्लेख्य पक्ष के भने उक्त सशस्त्र संघर्षलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउन पार्टीभित्र र बाहिरको वातावरण मिलाउने हरप्रयास गरे ।

खासमा आफ्नै पार्टीभित्रको उग्रवादी धारमाथि वैचारिक विजयका साथ पूर्वविद्रोही एकीकृत नेकपा माओवादीलाई शान्तिपूर्ण राजनीतिक बाटोमा ल्याउन उनको प्रमुख भूमिका रह्यो । 

बनारसी पुस्ता 
कुनै बेला नेपालीहरूको राजनीतिक र सांस्कृतिक केन्द्रका रूपमा भारतको बनारसलाई चिनिन्थ्यो । गंगा नदीको किनारमा अवस्थित काशी (हाल बनारस) संस्कृत शिक्षा एवं पूर्वीय दर्शन-दीक्षाको केन्द्र थियो । पूर्वी नेपालका दुर्गम भेगदेखि नै नेपालीहरू शिक्षादीक्षाको खोजीमा बनारस पुग्थे ।

समयक्रमले शिक्षा र संस्कृतिसँगै बनारसले राजनीतिक आयाम ग्रहण गर्‍यो । नेपालको नियन्त्रित राजनीतिक वातावरणमा नअटाएकाहरू निर्वासित जीवन बिताउन पनि बनारस नै पुगे । नेपालमा राणा शासकहरूको दबदबा छँदा भारतमा बेलायती उपनिवेश उत्कर्षमा थियो ।

भारतीय जनजीवन उपनिवेशमुक्तिका लागि भित्रभित्रै तयारीमा थियो । त्यस तयारीको ठूलो हिस्सा बनारसले नै ओगट्थ्यो । राममनोहर लोहिया, जवाहरलाल नेहरू र महात्मा गान्धीजस्ता भारतीय स्वतन्त्र संग्रामका अग्रणीसँग बीपी कोइरालालगायत नेपाली नेताहरूको संगत, प्रभाव र शैक्षिक हेलमेल बनारसमै भएको थियो । त्यतिञ्जेल बनारसको सांस्कृतिक परचियसमेतलाई ओझेल पार्ने गरी बनारस हिन्दु विश्वविद्यालय (बीएचयू) ठडिइसकेको थियो ।

बीएचयूले थुप्रै नेपाली राजनीतिज्ञलाई दीक्षित गर्‍यो । नेपाली प्रजातान्त्रिक आन्दोलनका अगुवा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, शैलजा आचार्य, प्रदीप गिरी, चक्रप्रसाद बाँस्तोलालगायत नेताहरू यही विश्वविद्यालय र यसैको प्रभावक्षेत्रभित्र हुर्केबढे । पछि गएर बीएचयू एउटा प्राज्ञिक प्रतिष्ठानको नाम मात्रै रहेन । विद्वताको केन्द्र मात्रै नभई राजनीतिक सचेतना र आन्दोलनको विम्ब नै बन्यो ।

विश्वविद्यालय एउटा आधारस्तम्भ मात्रै थियो । त्यसको प्रभाव क्षेत्र पूरै बनारस रह्यो । बीएचयूको स्कुलिङ र वैचारिकी बनारसका अन्य शैक्षिक संस्थासँगै बस्तीहरूले समेत वहन र प्रवर्द्धन गरे । "घरको वातावरणले व्यक्तिको सोचाइ र व्यवहारमा जसरी प्रभाव पार्छ, शिक्षा र तालिमको प्रभाव पनि उत्तिकै पर्छ," बीएचयूबाट अंग्रेजीमा विद्यावारिधि गरेका प्राध्यापक श्रीधर गौतम भन्छन्, "परम्परागत स्थलहरू, गंगा, मन्दिर, घाट, पूर्वीय दर्शन/संस्कृतिको प्रभाव बनारस-दीक्षित नेताहरूमा प्रशस्तै रह्यो । त्यही कारण विज्ञान नै पढ्ने भए पनि आध्यात्मिक प्रवृत्तिका, बढी मन्दिर जाने व्यवहारसमेत सँगै बोकेर ल्याए ।"

कृष्णप्रसाद भट्टराईले बोकेको सन्तप्रवृत्ति र संवैधानिक राजतन्त्रको मान्यता, बीपी कोइरालाले वकालत गरेको वैयक्तिक स्वतन्त्रता, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले देखाएको जुझारु शैली नेपाली राजनीतिमा बीएचयू दीक्षा मान्न सकिन्छ । बीएचयूको उत्पादनले जसरी आन्दोलनको सफल नेतृत्व दियो, त्यस अनुसार सुशासन भने दिन सकेन ।

जेएनयू स्कुलिङ
सन् १९६९ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले जेएनयू स्थापना गरेकी थिइन् । गान्धी आफैँले आफ्ना पिता जवाहरलाल नेहरूको विचारको कति प्रतिनिधित्व गर्छिन् भन्नेबारे बहस हुन सक्ला तर नेहरूको विचारलाई यस विश्वविद्यालयले आदर्शका रूपमा थोरबहुत पक्कै बोकेको छ । बीएचयूका संस्थापक मदनमोहन मालवीय र जवाहरलाल नेहरू दुवै भारतीय स्वतन्त्रता संग्रामका योद्धा थिए । "तर, मालवीयद्वारा स्थापित बीएचयूले प्राचीन हिन्दु विरासत बोक्न चाह्यो भने जेएनयू संस्थापकहरूले भारतीय समाजवादी आन्दोलनका नेता नेहरूलाई आदर्श पात्र मान्यो," राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम भन्छन्, "नेहरू समाजवादीमध्येका पनि मध्यमार्गी थिए । उनकै सहयोद्धा जयप्रकाश नारायण, राममनोहर लोहिया र बीपी कोइराला उनीजस्ता थिएनन् ।"

समाजको विकास विस्तारै हुन्छ, एकैचोटि हाम्फाल्न सक्दैन भन्ने मध्यमार्गी समाजवादीहरूको मान्यता थियो । अर्थात्, यो मान्यता उग्रवादमा विश्वास गर्दैन । यद्यपि, नेहरू प्रगतिशील विचारहरूका पनि संरक्षक थिए । भारत स्वतन्त्र हुँदा विश्व दुई ध्रुवमा विभाजित थियो । त्यतिखेर अमेरिका-बेलायत एक देखिन्थे । बेलायतसित संघर्ष गरेकाले भारत मनोवैज्ञानिक रूपमा पनि रसियानजिक भयो । भारत र रसिया एकअर्कालाई आइपर्दा सहयोग गर्ने सुरक्षा सन्धिमा समेत बाँधिएका थिए । स्वतन्त्रता संग्रामकै समानान्तर कम्युनिस्ट आन्दोलन पनि अघि बढिरहेको थियो । वाम स्कुलिङ्लाई राज्यसंयन्त्रभित्र ल्याउन र शान्तिपूर्ण राजनीतिक मूलप्रवाहबाट बाहिर जान नदिन जेएनयू स्थापनाको एउटा उद्देश्य थियो । 

जेएनयूले प्रकाश करात र सीताराम येचुरीजस्ता प्रभावशाली कम्युनिस्ट नेताहरू पनि उत्पादन गर्‍यो । यी दुवै नेता क्रमशः भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका महासचिव र पोलिटब्युरो सदस्य हुन् । जेएनयूमा पढ्ने अधिकांश विद्यार्थी र पढाउने शिक्षकहरूसमेत वामपन्थी विचारधारा बोक्नेहरू हुने गर्छन् । "जेएनयूका शिक्षक र विद्यार्थीमा वामहरूको वर्चस्व त छ तर त्यहाँ गएपछि सबै विद्यार्थी वाम भएर फर्कन्छन् भन्ने गलत धारणा लामो समयसम्म रह्यो । अहिले विस्तारै यस्तो धारणा खण्डित हुँदैछ," जेएनयूबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गररिहेका एमाले विदेश विभाग सदस्य राजन भट्टराई भन्छन् । माधव नेपाल प्रधानमन्त्री छँदा उनका विदेश मामिला सल्लाहकारसमेत थिए, भट्टराई ।

बीएचयूको स्कुलिङ्लाई मुख्यतः नेपाली प्रजातान्त्रिक आन्दोलनका दुई ठूला नेता बीपी कोइराला र कृष्णप्रसाद भट्टराईले बोके । संयोगवश यी दुवै नेता बनारसमै जन्मेहुर्केका हुन् । राजसंस्था र प्रजातन्त्र अन्तरसम्बन्धित रहेको मान्यता राख्ने कांग्रेसको वैचारिक स्रोत बीएचयू हो भन्नेहरू पनि छन् । यी दुई नेतालाई आदर्शपात्र मान्ने कतिपय नेताहरूले गणतन्त्र घोषणाका दिनसम्मै पनि गणतन्त्र मान्न हिच्किचाहट देखाएका थिए । बीपीकै भाइ गिरिजाप्रसाद कोइरालाले पनि कहिले 'बेबी किङ्' त कहिले 'सेरेमोनियल किङ्'को वकालत गरे । गिरिजाप्रसादले विश्वविद्यालय शिक्षा नलिए पनि बीएचयूकै प्रभावक्षेत्रमा उनी पढेबढेका थिए । त्यसैले ०६२/६३ को आन्दोलन र त्यसयताको राजनीतिक यात्रालाई गणतन्त्र र प्रजातन्त्रको एकरूपीकरणको संज्ञा दिइन्छ । 

जेएनयू आकर्षण
विहार र उत्तर प्रदेशको प्रादेशिक राजनीतिको प्रभाव पनि बीएचयूमा पर्ने त्यहाँ पठितहरूको अनुभव छ । ती राज्य विगतको फोहोरी राजनीतिका लागि प्रख्यात् छन् । तर, युरोपको मापदण्डमा पुर्‍याउने लक्ष्यका साथ स्थापित जेएनयूले आधुनिकताको प्रतिनिधित्व गर्छ । यो विश्वविद्यालय बढी स्वायत्त, पूर्वाधारसम्पन्न, आधुनिक दृष्टिकोणबद्ध शिक्षक, राष्ट्रिय/अन्तर्राष्ट्रिय पहिचान बनाउन थालेका उत्पादनका कारण चिनिन्छ । 

कतिपय त यस विश्वविद्यालयलाई दक्षिण एसियाको अक्सफोर्ड भन्न पछि पर्दैनन् । जेएनयूकै अर्का विद्यार्थी एवं माओवादी सभासद् हरि रोका भन्छन्, "बनारसमा बढी स्थानीयकरण हुन्छ । स्थानीय संस्कृतिको प्रभाव बढी पर्छ, पुरातन अध्यात्मवादको विरासत पनि बीएचयूले बोक्छ र बनारसकेन्द्रित राजनीति जातिवादीसमेत थियो ।"

रोकाका अनुसार जेएनयूमा जातभातको कुरा हुँदैन तर विचारधाराले प्रभाव पार्छ । जेएनयू वामकेन्द्रित हुने कारण पनि यही हो । बनारसको शैक्षिक र सामाजिक मूल्यपद्धतिबाट दीक्षित नेताहरू वैयक्तिक स्वतन्त्रता र संवैधानिक राजतन्त्रमा बढी जोड दिन्थे भने जेएनयूले वामपन्थको 'झुकाव' बोकेको त्यहाँबाट दीक्षितहरू बताउँछन् ।

भारतीय राजनीति बनारसबाट दिल्ली सरेपछि नेपाली राजनीतिको साङ्लो पनि दिल्लीसम्मै पुग्यो । विद्वताको केन्द्र बनारसबाट प्राज्ञिक अवसरहरू पनि विकेन्द्रित भए । दिल्लीको राजनीतिमा उत्तर प्रदेश र विहारका बासिन्दाहरूले बढी प्रभाव पार्थे । नेहरू, डा राधाकृष्ण, जयप्रकाश नारायण, राममनोहर लोहियालगायत प्रतिष्ठित दार्शनिक, विद्वत्हरू त्यहीँ भएपछि राजनेताहरू भेटघाट, कुराकानी गर्न सजिलो हुन्थ्यो, नेपाली राजनेताहरूका लागि । उनीहरूकै संगतमा हुर्केका पनि थिए, धेरै नेपाली राजनेता र प्रशासकहरू । दिल्ली त्यतिखेर निकै टाढा थियो । 

अहिले दिल्लीलाई उत्तरप्रदेश र विहारले मात्रै प्रभाव पार्दैनन् । अन्तर्राष्ट्रिय बजार, शिक्षा, सामाजिक, सांस्कृतिक र अन्यत्रको बौद्धिक जमात पनि दिल्लीमा केन्द्रित हुन थाल्यो । भारतीय जनता पार्टी र कांग्रेसबाट शक्ति खोसियो । केन्द्रीय राजनीतिमा अरू क्षेत्रीय पार्टी पनि प्रभावशाली भए । यसरी राजनीतिक केन्द्र दिल्ली सरेपछि नेपालीको गन्तव्य पनि दिल्ली बन्न थाल्यो । "भारतीय राजनेतालाई भेट्नुपरे जाने ठाउँ नै दिल्ली बन्यो," प्राध्यापक श्रीधर गौतम भन्छन् ।

गौतमका अनुसार राणाकालमा नेपालमा राजनीति गर्न नपाइने हुनाले राजनीतिक गतिविधि गर्ने र पढ्ने उद्देश्यले बनारसमा नेपालीहरू केन्द्रित  हुन्थे । बीएचयू नै केन्द्रीय विश्वविद्यालय थियो । पञ्चायतकालसम्मै यसले निरन्तरता पायो । ०४६ पछि यसमा क्रमभंग भयो र विद्यावारिधि गर्ने विद्यार्थीहरू मात्रै जान थाले । सरकारी एवं संस्थागतरूपमा छात्रवृत्ति पाएर पढ्नेहरू बढी छन् यसमा ।

नेपालमै विद्यावारिधिको अवसर मिल्न थालेपछि बनारस-प्रवाह अझ घट्यो । बरु युरोप, अमेरिकाजस्ता विकसित मुलुकहरूतिर आकर्षण बढ्न थाल्यो । तर, युरोप-अमेरिका पढेकाहरूले नै प्रत्यक्ष रूपमा राज्यसत्ता सम्हालिसकेका छैनन् । पूर्वप्रधानमन्त्री नेपालका विदेश सल्लाहकार भट्टराईका अनुसार अहिले भारतका अधिकांश उच्च राजनीतिक नेता, प्रशासक, कूटनीतिक मामिलाका विज्ञहरू जेएनयूकै उत्पादन छन् । नेपालका विश्वविद्यालय र क्याम्पसहरूका शिक्षक, स्नातकोत्तर र विद्यावारिधि पढ्न जाने विद्यार्थीको संख्या दिनदिनै बढ्दै छ ।

जेएनयूको विदेशी विद्यार्थी युनियनका पूर्वअध्यक्ष प्रमोद जयसवालले इमेलमार्फत् दिएको जानकारी अनुसार अहिले त्यहाँ अध्ययनरत नेपालीहरू ५५ जनाभन्दा बढी छन् । १७ नेपालीले त विद्यावारिधि नै गर्दै छन् । जबकि, सन् २००६/७ मा जम्मा नेपाली विद्यार्थी संख्या २२ थियो । त्यसअघि झन् औँलामा गन्न सकिन्थ्यो । तर, नेपाली विद्यार्थीको जेएनयूप्रति आकर्षण दर्शाउन यही आँकडा पर्याप्त छैन । किनभने, जेएनयूमा पढ्नका लागि सयौँ नेपालीले फाराम भर्छन् तर ७ देखि १० विद्यार्थीले खुला प्रतिस्पर्धाबाट भर्ना पाउँछन् ।

प्रधानमन्त्री भट्टराई नै जेएनयूका उत्पादनमध्ये उपल्लो ओहोदामा पुग्ने नेपाली हुन् । उनकै कारणले नेपालमा जेएनयूको छवि र प्रचार राम्रैसँग भयो । भट्टराईबाहेक पूर्वराजदूत लोकराज बराल, सेना समायोजन विशेष समितिको सचिवालय सदस्य दीपकप्रकाश भट्ट, कांग्रेस नेता अमरेशकुमार सिंह पनि नेपालको नीतिगत तहमा प्रभाव पार्न सक्ने जेएनयू उत्पादनहरू हुन् ।

समय र विकासक्रमले प्रभावहरूको स्थानान्तरण हुनु स्वाभाविक हो । यो यथार्थ बीएचयू र जेएनयूका हकमा पनि लागू हुन्छ । नेपालको बौद्धिक जमात र वैचारिक दिशानिर्देशमा बीएचयूको प्रभाव घटेर जेएनयूको बढेकामा शंका छैन । यद्यपि, बीएचयूबाट खोसेर जेएनयूले सत्ता नै जमायो भन्नु गलत हुनसक्छ ।

 http://www.ekantipur.com/nepal/article/?id=2953

No comments:

Post a Comment