Monday, February 20, 2012

उपराष्ट्रपतिको परिवारवाद



कहिले भूमिका नपाएको भनेर गुनासो गर्दै हिँड्ने त कहिले आफ्नो मर्यादा नै बिर्सेर देश-विदेशका निम्तो मान्न जाने। कहिले जातीय र साम्प्रदायिक विषयमा आग्रहपूर्ण अभिव्यक्ति दिने त कहिले राजनीतिक विषयमा विरोधाभासपूर्ण टीकाटिप्पणी गर्ने। जसरी भए पनि चर्चा र विवादको केन्द्रमा रहनु उपराष्ट्रपति परमानन्द झाको विशेषता नै हो। तर, कान्तिपथस्थित बहादुर भवनमा पस्ने हो भने उनको फरक परचिय पनि देखिन्छ। उनको कार्यालय रहेको उक्त भवनमा पस्नेबित्तिकै राष्ट्रको सर्वोच्च पदाधिकारीको कार्यालय होइन, कुनै नेताको निजी निवासमा पसेको भान हुन्छ। जहाँ उपराष्ट्रपति झाले आफन्तै-आफन्त भर्ती गरेका छन्।

उपराष्ट्रपति झाले स्वकीय सचिव आफ्नै छोरा कृष्णचन्द्र झालाई राखेका छन्। उनले नेपाल सरकारको विशिष्ट श्रेणी अर्थात् सचिवसरहको सुविधा र मर्यादा पाउँछन्। सचिवालयमै सहसचिवसरहको सुविधा पाउने गरी आफ्नै भतिजा देवानन्द झालाई नियुक्त गरेका छन्। यसअघि त्यो ठाउँ उनकै छोरी ज्योति झाले ओगटेकी थिइन्। उनी त्यसभन्दा आकर्षक तलब-सुविधा पाउने गरी बि्रटिस काउन्सिलमा जागिर खान गएपछि उपराष्ट्रपति झाले त्यसमा भतिजा देवानन्दलाई स्थापित गरेका हुन्।

उपराष्ट्रपति झाले आफ्नी बुहारीलाई पनि जागिरबाट वञ्चित गरेका छैनन्। स्वकीय सचिव कृष्णचन्द्रकी श्रीमतीलाई उपराष्ट्रपतिको स्वकीय सचिवालयमै रहने गरी कम्प्युटर अपरेटरमा जागिर लगाइएको छ। उनले नायब सुब्बासरहको तलब-सुविधा पाउँछिन्। यति मात्रै होइन, घरकै लागि राखिएका दुई अर्दली, कार्यालय सहायकलगायत पदमा समेत उपराष्ट्रपति झाले आफन्तै-आफन्त भर्ना गरेका छन्। जम्मा ३० जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा उपराष्ट्रपतिकै पारविारकि नातासम्बन्ध भएकाहरूको बाहुल्य रहेपछि कतिपय कर्मचारीले बहादुर भवनलाई नयाँ नारायणहिटीको नाम दिएका छन्। उपराष्ट्रपतिले एक जना सल्लाहकार राख्न पाउने वैधानिक व्यवस्था छ। त्यो पद भने खाली छ। उनले एक जना मात्रै सल्लाहकार पर्याप्त नभएको भन्दै राजनीतिक, कानुनी र प्रेस गरी कम्तीमा तीन जना सल्लाहकार राख्न पाउनुपर्ने माग गर्दै आएका छन्। 'सबै क्षेत्रको सर्वज्ञ एक जना मात्रै म कहाँबाट ल्याऊँ !' भन्दै उनले अहिलेसम्म औपचारकि रूपमा भने कसैलाई सल्लाहकार नियुक्त गरेका छैनन्। उनकै कार्यालयका कर्मचारीहरू भने सल्लाहकार नियुक्त नगरेको विषयप्रति 'कोही आफन्त बाँकी छैनन् कि क्या हो !' भन्दै व्यंग्यात्मक टिप्पणी गर्छन्।
http://www.ekantipur.com/nepal/article/?id=3209
More abourt Vice president of Nepal : Visit of the Vice-President: A National Disgrace : http://nepalweekly.blogspot.com/
राष्ट्रकै बेइज्जती : http://www.ekantipur.com/nepal/article/?id=1663

- रामबहादुर रावल

No comments:

Post a Comment