Monday, September 7, 2015

वाग्मतीका जीवनदाता : लीलामणि पौड्याल

समाचार निर्माता २०७१

समाचार निर्माता २०७१
मुख्यसचिव, नेपाल सरकार
सिंहदरबारका वातानुकूलित कक्षमा बसेर जागिर निर्वाह गर्ने र निवृत्तिका दिन नजिकिन थालेपछि अर्को पद हत्याउन सम्पूर्ण शक्ति खर्च गर्ने शासक/प्रशासक कति आए, गए। तर, उनी यस्ता प्रशासक हुन्, जसले आफ्नो परभिाषित जिम्मेवारीबाहेक पनि राष्ट्रिय सरोकार र सामाजिक समस्या सम्बोधनको पहलकदमी  लिन सकिन्छ भन्ने उदाहरण स् थापित  गरे। आफ्नो कार्यालयका काम प्रभावित नहुने गरी नेपाली सभ्यता, संस्कृति र सहरी जीवनसँग अभिन्न रूपले गाँसिएको वाग्मती नदी सफाइ अभियानको नेतृत्व गरे। राज्य संयन्त्र मात्र होइन, गैरसरकारी, निजी क्षेत्र र समुदायलाई समेत परचिालन गरे।
आफू सिन्को नभाँच्ने तर नदी फोहर भएकामा अरूतिर धारेहात लगाउने प्रवृत्तिलाई जवाफ दिन 'हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने' भन्ने नारा नै बनाए। नागरकिमा स् वयंसेवी भावना जागृत गराउन हरेक शनिबार वाग्मती नदीमा आफैँ हेलिएर फोहर उठाउने तालिका कठोरताका साथ पालना गरे। अभियानप्रति स्थानीयको  अपनत्व र दायित्वबोध गराउन विदेशी दाताको लगानी र गैरसरकारी संस्थाका परयिोजना स्वीकार नगर्ने आचारसंहिता बनाए। आर्थिक चलखेल हुन नदिन नगद चन्दा र सहयोग उठाउन नपाइने नियम बनाए। त्यसैले अभियानमा कुनै अध्यक्ष, कोषाध्यक्ष र बैंक खाता छैन।
२८ चैत बिहान अभियानले सय हप्ता मनाउँदा सुन्दरीजलदेखि चोभारसम्म सवा लाख राजधानीवासीले नदी किनारमा हातेसाङ्लो बनाएर निरन्तर लाग्ने कसम खाए। यीबाहेक वाग्मती सफाइमा निरन्तर जुट्नेको संख्या तीन लाख पुगेको छ। वाग्मतीबाट मात्र तीन हजार मेटि्रक टन र राजधानीका सबै नदीनालाबाट गरी  पाँच हजार मेटि्रक टन फोहर उठेको छ। वाग्मतीको गर्भभित्रबाट ८० प्रतिशत फोहर उठेको अनुमान छ। अहिले यो अभियानले देशव्यापी रूप लिएको छ र उपत्यकाबाहिरका नदी सफाइ अभियानको नेतृत्व स्थानीय समुदायले लिएका छन्। सहरको ढल, फोहरको डंगुर र शक्तिशालीहरूका भव्य संरचनाभित्र हराएको  वाग्मती नदीको अस्तित्वको खोजीमा मुख्यसचिव पौड्याल आफैँ निस्किएपछि सहरी व्यवस्थापन र पर्यावरण संरक्षणका निम्ति बनेका राज्यका अरू संरचना पनि ब्यूँझिएका छन्।
http://nepal.ekantipur.com/news/2015-04-20/8347.html

No comments:

Post a Comment